भारतमा 'गदर २' क्रेज : फिल्म हेर्न ट्याक्टर रिजर्भ, ३ दिनमा १०० करोड कलेक्सन

भारतमा 'गदर २' क्रेज : फिल्म हेर्न ट्याक्टर रिजर्भ, ३ दिनमा १०० करोड कलेक्सन

बलिउड फिल्म 'गदर-२' ले बक्स अफिसमा बम्पर कमाइ जारी राखेको छ।

फिल्मले दोस्रो दिन ४३.०८ करोड भारु कमाएको छ। दुई दिनमा फिल्मको कुल कमाई ८३.१८ करोड भारु पुगेको छ। आज अर्थात् आइतबार फिल्मले सय करोड कमाउने पक्का देखिएको छ। फिल्मको क्रेज यति धेरै छ कि भारतमा मानिसहरू ट्रयाक्टर चढेर फिल्म हेर्न पुगेका छन्।

अर्कोतर्फ 'ओएमजी २' ले पनि पहिलो दिनको तुलनामा राम्रो प्रदर्शन गरेको छ। फिल्मले दोस्रो दिन १५.३० करोड कमाएको थियो। अक्षय कुमारको फिल्मले दुई दिनमा २५.५६ करोड कमाएको छ।

२२ वर्षअघि पहिलो भागमा देखिएको क्रेज ​​'गदर-२' मा पनि देखिएको छ। मानिसहरू थिएटरतर्फ दौडिरहेका देखिएका छन्। कोही ट्याक्टर लिएर कोही ह्यान्डपम्प लिएर सिनेमा हल गएका छन्। उनीहरूले 'हिन्दुस्तान जिन्दावाद'को नारा पनि लगाएका देखिएको छ। मानिसहरू थिएटरहरूमा नाचिरहेका छन्।

सिंगल स्क्रिन थिएटर भित्र र बाहिर हजारौंको भीड देखिएको छ। धेरै वर्षपछि यसरी सिंगल स्क्रिन थिएटरमा फिल्मले तहल्का मच्चाएको हो। 

यो फिल्म एकल रिलिज भएको भए शाहरुख खानको 'पठान'को कीर्तिमान तोड्न सक्ने सामाजिक सञ्जालमा फिल्म वितरकहरूले बताइरहेका छन्। 

'गदर २' चार हजार स्क्रिनमा रिलिज भएको छ। अर्कोतर्फ पठान ५५०० स्क्रिनमा रिलिज भएको थियो। यसअनुसार 'गदर २' ले धेरै राम्रो प्रदर्शन गरिरहेको देखिन्छ। 

साउन २८, २०८० आइतबार १४:०८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।