टोरन्टोमा छनोटपछि निर्देशक सुब्बा भन्छन् : नेपाली फिल्मको उचाइ एक खुड्किलो बढ्यो

टोरन्टोमा छनोटपछि निर्देशक सुब्बा भन्छन् : नेपाली फिल्मको उचाइ एक खुड्किलो बढ्यो

काठमाडौं : बाबु छोराको कथामा बनेको नेपाली फिल्म ‘गाउँ आएको बाटो’ क्यानाडाको टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ। नवीन सुब्बा निर्देशित यो फिल्म टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छानिएको हो।

यो फिल्म ४८ औं टोरन्टो फेस्टिभलमा विश्व प्रिमियर हुनेछ। यस वर्षको टोरन्टो फिल्म फेस्टिभल आगामी सेप्टेम्बर ७ देखि १७ सम्म आयोजना हुँदैछ।

छनोटपछि निर्देशक सुब्बाले उकेरासँगको कुराकानीमा विश्वको प्रतिष्ठित फिल्म महोत्सवमा आफूले निर्देशन गरेको फिल्म छनोट हुँदा एकदम खुशी लागेको बताए।

‘नेपाली फिल्मले अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट हुँदा नेपाली फिल्मको उचाई बढेको महसुस गरेको छु,’ उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा यसलाई एउटा खुड्किलोको रुपमा निर्माण टिमले नै लिएका छौं।’

उनले अगाडि भने, ‘यस वर्ष धेरै फिल्महरु अन्तराष्ट्रिय फेस्टिभलमा सहभागी भइरहेका छन्। यस कारण पनि नेपाली फिल्मलाई सकारात्मक दिशातर्फ लैजान्छ भन्ने मलाई लागेको छ।’

अरु बेला साना फिल्म फेस्टिभलमा सहभागी हुँदै आएका नेपाली फिल्मकर्मीहरु बिस्तारै ठूला अन्तराष्ट्रिय फेस्टिभलमा पनि फड्को मार्न थालेको निर्देशक सुब्बाले बताए। 

गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथालाई फिल्मले प्रस्तुत गरेको छ। निर्देशक सुब्बाका अनुसार गाउँमा भर्खरै बाटो पुगेको अवस्थामा त्यहाँको समुदायको एउटा कथालाई फिल्ममार्फत प्रस्तुत गरिएको छ।

फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई र राज थापाको मुख्य भूमिका रहेको छ। 

फिल्म पूर्वका जिल्ला भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ।

महेश राई र नवीन सुब्बाको लेखन, क्वान पुन लिउङको सम्पादन, हेडी लिको संगीत र किशोर आचार्यको ध्वनि रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेको हुन्।

मिन्सो लिम्बू लाइन निर्माता रहेको यस फिल्ममा सन्जु राई, नरहाङ राई, भीम राई र देवराज राई कार्यकारी निर्माता छन्।

साउन २७, २०८० शनिबार १०:२२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।