नर्स पलायनको अवस्थालाई रोक्न सरकार लागिपर्छ : प्रधानमन्त्री प्रचण्ड

नर्स पलायनको अवस्थालाई रोक्न सरकार लागिपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्स पलायनको अवस्थालाई रोक्न सरकार लागिपर्ने बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले पद बहाली गरेको एक सय दिनको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले नर्स पलायन हुने अवस्था रोक्न सरकार लागि पर्ने बताएका हुन्।

उनले भने, ‘सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरू अर्को देशमा गएर तालिम लिने, पढ्ने र त्यतैबाट अन्त जाने जो परिस्थिति बनेको छ, हामी सबैको लागि यो ठूलो प्रश्न बनेको छ। यसलाई रोक्न सरकार लागि पर्छ।’

नर्सिङ सेवामा देखिएको चुनौती सरकारका लागि अग्निपरीक्षा भएको भन्दै प्रधानमन्त्री दाहालले नीतिगत सुधार गरेर देखा परेका समस्या समाधान गर्ने विश्वास दिलाए।

‘केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखा परेका चुनौति सामना गर्ने आफैंले एउटा नयाँ संकल्प लिएको विस्वास पनि दिलाउन चाहन्छु।’

संविधानले परिकल्पना गरेअनुसारको स्वास्थ्य सेवा जनतालाई दिन नसकेको स्वीकार्दै उनले त्यसका लागि निक्कै जटिलता र चुनौतीको सामना गरिरहेको बताए।

प्रधानमन्त्री दाहालले इनर्जेटिक र डाइनामिक मन्त्रीको रूपमा स्वास्थ्य मन्त्रालय सम्हालेको भन्दै मन्त्री बस्नेतको प्रशंसासमेत गरे।

कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा सय दिनमा आफूले गरेका कामको फेहरिस्त सुनाए।

स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई मन्त्री बस्नेतको कार्यक्रममा सेतो कोट लगाएर अनिवार्य उपस्थितिका लागि उर्दि नै जारी गरेको थियो।

साउन २६, २०८० शुक्रबार १९:०९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।