१० हजारभन्दा बढीमा डेंगु संक्रमण, यी तीन जिल्ला छैनन् एक पनि संक्रमित
काठमाडौं : १० हजारभन्दा बढी मानिसमा डेंगु भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको विवरणअनुसार १० हजार ७२६ जनालाई डेंगु सङ्क्रमण देखिएको हो।
सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ। यो विवरण सन् २०२३ लागेपछिको हो।
लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु सङ्क्रमण बढ्ने महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले बताए।
यसैगरी डेंगु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने उनको भनाइ छ।
सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा डेंगुको सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो।
सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ। महाशाखाका अनुसार सुनसरीमा छ हजार ४१ जनामा डेंगु सङ्क्रमण देखिएको छ।
सुनसरीपछि मोरङ एक हजार तीन सय ४४, धादिङ एक हजार २७ जना, कास्की दुई सय २५ जना, धनकुटा दुई सय २३, दार्चुला एक सय ९२ जना, झापा एक सय ८२, काठमाडौं एक सय ५१ सङ्खुवासभा एक सय ४८ जना र तनहुँ ७९ जनामा डेंगुका बिरामी भेटिएका छन्।
सोलुखुम्बु, मुगु र हुम्लामा यसवर्ष अहिलेसम्म डेंगुका एक जना पनि संक्रमित भेटिएका छैनन्।
साउन २४, २०८० बुधबार २२:१७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।