मेडिकल बोर्डको सिफारिसमा कडाइ, अब छानविन गरेर मात्र दिइने

मेडिकल बोर्डको सिफारिसमा कडाइ, अब छानविन गरेर मात्र दिइने

काठमाडौं : सरकारी कर्मचारीहरूले व्यक्तिगत स्वास्थ्य समस्याको कारण देखाई चाहेको ठाउँमा बसेको देखिएपछि नेपाल मेडिकल बोर्डले दिने सिफारिसमा कडाइ गरेको छ।

बोर्डको अध्यक्षस्तरीय निर्णयबाट साउन १० गतेबाट सिफारिसमा कडाइ गरिएको हो। बोर्डको अध्यक्ष वीर अस्पतालका निर्देशक हुने प्रावधान छ।

सरकारी कर्मचारीलाई सरकारी सेवा प्रवाहमा समस्या वा कुनै किसिमको रोग प्रमाणित निर्णय सम्बन्धि सिफारिस चाहिएमा बोर्डले दिने गर्दछ।

यस्तो सिफारिस सम्बन्धित संघीय, प्रादेशिक वा स्थानीय सरकारको सिफारिस पत्रअनुसार काम र प्रयोजन प्रष्ट खुलाई आएको खण्डमा छानबिन गरी प्रक्रिया पुगेको अवस्थामा मात्र दिइने उकेरालाई प्राप्त पत्रमा उल्लेख छ।

बोर्ड अध्यक्ष तथा वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘व्यक्तिगत सिफारिस माग्न आएको निवेदन उपर कुनै पनि सिफारिस प्रक्रिया अगाडि बढाइने छैन।’

कर्मचारीहरू मेडिकल बोर्डको सिफारिसका भरमा आफूले चाहेको ठाउँमा काजमा बस्ने अनि खटाएको ठाउँमा समेत नजाने प्रवृति बढेपछि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले समेत बोर्डको सिफारिसलाई पुनर्मूल्याङ्कन (रिभ्यू) गरिने बताएका थिए।

वीर अस्पतालमा समेत केही कर्मचारी वास्तविक रूपमा नै स्वास्थ्य समस्या भएर बसेको त केही कर्मचारीहरू स्वस्थ भए पनि मेडिकल बोर्डको सिफारिसको भरमा बस्दै आएका छन्।

स्रोतका अनुसार कर्मचारीहरूले पहुँचको भरमा सामान्य स्वास्थ्य समस्या हुँदासमेत जटिल देखाइ बोर्डबाट सिफारिस लिने गरेका छन्।

वास्तविक बिरामीले आवश्यकताअनुसार बोर्डको सिफारिस लिनुपर्ने हुनुसक्छ। तर, सामान्य स्वास्थ्य समस्या भएका व्यक्तिका लागि स्वार्थअनुरुप सिफारिस लिनबाट रोक्न बोर्डले यस्तो कडाई गरेको स्रोत बताउँछ।

‘यसरी कडाइ गर्दा वास्तविक बिरामीले न्याय पाउने अनि झुटो बिरामी बनेर बोर्डको सिफारिस लिन खोज्नेलाई रोक्नका लागि यस्तो निर्णय भएको हो,’ स्रोतले भन्यो, ‘झुठो बिरामी सिफारिस गर्ने चिकित्सकको विषयमा समेत छानबिन हुन्छ।’

स्वास्थ्य मन्त्रालयले मेडिकल बोर्डको सिफारिसको आधारमा समायोजन भएका कर्मचारीलाई एक महिनाभित्र पुनः स्वास्थ्य परीक्षण गराई पेश गर्न निर्देशन दिएसँगै बोर्डको सिफारिसमा कडाइ भएको वीर अस्पतालका उपसचिव सागर मिश्रले बताए।

मेडिकल बोर्डको सिफारिसको भरमा वीर अस्पतालमा बस्नेहरुको यस अघि उकेराले समाचार समेत सम्प्रेषण गरिसकेको छ।

साउन १५, २०८० सोमबार २१:००:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।