ओपिडी नै बन्द गराएर बिरामीलाई सास्ती दिँदै वीर अस्पतालको वार्षिकोत्सव, अस्पतालभित्रै चर्को भाषण, खर्च ३० लाख

ओपिडी नै बन्द गराएर बिरामीलाई सास्ती दिँदै वीर अस्पतालको वार्षिकोत्सव, अस्पतालभित्रै चर्को भाषण, खर्च ३० लाख
वीरको भवनभित्रै भएको कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्यमन्त्री।

काठमाडौंः वीर अस्पतालले अस्पताल परिसरभित्रै होहल्ला गराएर १ सय ३४ औँ वार्षिक उत्सव मनायो। शुक्रवार अस्पतालको सर्जिकल भवनभित्रको भुईँ तलामा कार्यक्रम गरिएको थियो।

अस्पतालका उपसचिव सागर मिश्रका अनुसार वार्षिक उत्सवका लागि करिब ३० लाख खर्च भयो।

अस्पतालमा ११ बजेसम्म ओपिडी टिकट काटिएको थियो। १२ बजेपछि ओपिडी सेवा पनि बन्द भयो। शल्यक्रिया भने नियमित नै गरिएको मिश्रले दाबी गरे।

अस्पतालको वार्षिक उत्सवमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्य सचिवद्धय डा. रोशन पोख्रेल र देवकुमारी गुरागाईँ सहभागी थिए।

त्यसैगरी मन्त्रालयका अतिरिक्त सचिव सङ्गीता कौशल मिश्रा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण श्रेष्ठ र चिकित्सा विज्ञान प्रतिष्ठानका पदाधिकारी लगायतका पनि कार्यक्रममा थिए।

वार्षिक उत्सव कार्यक्रम स्वास्थ्य मन्त्री लगायत प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्र कुमार बस्नेत, अस्पतालका निर्देशक डा. सन्तोष पौडेल लगायतले वीर अस्पतालमा सेवा विस्तार हुँदै गएको भाषण गरे।

कार्यक्रममा सहभागी कसैले पनि अस्पताल परिसरभित्रै होहल्ला हुने कार्यक्रम गर्दा बिरामीलाई असर पर्न सक्ने पक्षको वास्ता गरेनन्।

बिरामी उपचार गर्ने भवनको भुईँ तलामा भएको कार्यक्रमले बिरामीलाई ओहोरदोहोर गर्न नै सास्ती भएको प्रस्टै देखिन्थ्यो। कोही बिरामी त्यही कार्यक्रमको भिडलाई छिचोल्दै ह्विलचियरमा उपचारका लागि ओहोर दोहोर समेत गरिरहेका थिए। कोही औषधि लिएर भिडकै बिचमा दौडिरहेका थिए।

कार्यक्रम सकिएपछि एक जना महिला रुँदै मन्त्री मोहन बस्नेतलाई गुहारिरहेको दृश्य देखियो।  ती महिलाको कोही आफन्त वीर अस्पतालमा उपचारको क्रममा थिए। तर, पैसा नभएर उपचार नै गर्न नसक्ने अवस्था भएको भन्दा उपचारमा सहयोगका लागि अस्पताल प्रशासनलाई भनिदिन मन्त्रीलाई गुहारेकी थिइन्।

मन्त्री बस्नेतले वीरका निर्देशकतिर हेर्दै उपचारको व्यवस्था मिलाइदिन निर्देशन दिए। त्यसपछि मन्त्री निस्किए।

त्यसो त यो वर्ष मात्रै हैन। वीर अस्पतालले अघिल्लो वर्ष समेत अस्पतालको सर्जिकल भवनभित्र होहल्लाकै बिच वार्षिक उत्सव कार्यक्रम गरेको थियो।

गत वर्ष तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा प्रमुख अतिथिको रूपमा कार्यक्रममा पुगेका थिए। गत वर्ष सुरक्षाका लागि भन्दै शल्यक्रिया गरेका बिरामी हेर्न राउन्डमा जान लागेका चिकित्सकलाई समेत रोकिएको थियो।

यो वर्ष पनि कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाइएको थियो। तर उनी आएनन्।

अस्पतालको भुईँ तलामा अल्ट्रासाउन्ड (यूएसजी), एक्स–रे लगायतका सेवा छन्। एक्स–रेको रिपोर्ट लिने, सर्जिकल भवनमा सेवा लिनका लागि रकम भुक्तानी गर्ने बैङ्क काउन्टर लगायतका सेवा भुईँ तलामा नै छन्। शुक्रवारको कार्यक्रमले सर्जिकल भवनको भुईँ तलामा हुने सबै सेवा बन्द भए।

सामान्यतया: अस्पताल परिसरमा ठुलो स्वरमा होहल्ला समेत गर्न पाइँदैन। अस्पताल प्राङ्गणमा ‘साइलेन्स’ बस्नुपर्ने हुन्छ। अस्पताल क्षेत्रमा सवारिसाधनहरुको हर्न बजाउन समेत निषेध गरिएको हुन्छ।

तर, बिरामीलाई सेवा दिने अस्पतालको सर्जिकल भवन भित्रै गत वर्ष जस्तै यो वर्ष पनि माइकको ठुलो आवाजसहित कार्यक्रम भयो।

कार्यक्रममा मन्त्री, प्रतिष्ठानका उपकुलपति निर्देशक लगायतले ठुलो–ठुलो स्वरमा भाषण गरे। तर, अस्पतालमा भने सेवा अस्तव्यस्त छ।

अस्पतालका माथिल्ला तलाहरूका बेडमा बिरामी थिए। अस्पतालको भुईँ तलामा भएको ठुलो हल्लासहितको ध्वनि बिरामीसम्म पुग्ने छेकबार केही थिएन।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी त्यसरी अस्पतालमा होहल्ला गरेर कार्यक्रम गर्न नहुने बताउँछन्।

‘अर्कै ठाउँमा कार्यक्रम गर्नुपर्छ। बिरामीलाई दुःख दिनु हुँदैन,’ उनले भने,‘कार्यक्रम अस्पताल बाहिर गर्नुपर्छ।’

अस्पताल बाहिर कतै कार्यक्रम गरे बिरामीलाई पनि असुविधा नहुने अनि अस्पतालमा काम गर्ने कर्मचारीलाई पनि उत्साह हुने उनको तर्क छ।

यस विषयमा सिनियर चिकित्सकहरूसँग कुराकानीका लागि सम्पर्क गर्दा अस्पतालभित्र यस्ता होहल्ला हुने किसिमका कार्यक्रम गर्नु त परै जाओस् नर्स, डाक्टर र बिरामीका आफन्त लगायतले समेत ठुलो स्वरमा कुरा गर्न नहुने बताए।

साउन १२, २०८० शुक्रबार २१:११:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।