थामिएन नेप्सेको पहिरो, बिहीबार साढे २ अर्बको कारोबार
काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन पनि नेप्सेमा आएको पहिरो थामिएन।
सोमबारबाट ओरालो लाग्न थालेको नेप्से बिहीबार पनि २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा झर्दा सेन्सेटिभ इन्डेक्स ५.२६ अंकले घटेर ४०३.८४ विन्दुमा झरेको छ।
उपसूचक समूह सबै ओरालो लागेका छन्। सबैभन्दा बढी व्यापार समूह २.६५ प्रतिशतले ओरालो लाग्दा सबैभन्दा कम बैंकिङ समूह १ प्रतिशतले तल झरेको छ।
बजार घटे पनि कारोबार रकममा भने खासै फरक आएन। बुधबार साढे दुई अर्बको कारोबार भएको बजारमा बिहीबार पनि त्यति नै रकमको कारोबार भयो।
यसदिन सबैभन्दा बढी शिवम् सिमेन्टको १० करोड ५७ लाखको कारोबार भयो भने दोस्रो स्थानमा रहेको हिमालयन डिस्टिलरीको ८ करोड ३६ लाखको कारोबार भयो।
साताको पहिलो दिन आइतबार ६३ अंकले बढेको सेयर बजार त्यसपछिका दिनमा घटेको घट्यै छ।
साउन ११, २०८० बिहीबार १५:०८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।