स्वास्थ्यमन्त्रीको अर्को स्टण्ट, नौ वर्षदेखि वीर नगएका भीभीआईपीका लागि तीन क्याबिन थपिए

स्वास्थ्यमन्त्रीको अर्को स्टण्ट, नौ वर्षदेखि वीर नगएका भीभीआईपीका लागि तीन क्याबिन थपिए
तस्बिर- स्वास्थ्य मन्त्रीको सचिवालय

काठमाडौं : मंगलबारबाट वीर अस्पतालमा दुई भीआईपी र एक भीभीआईपी गरी तीनवटा क्याबिन (उपचार कक्ष) सञ्चालनमा आयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पताल पुगेर त्यसको अवकलोनक पनि गर्दै अबदेखि भीआईपी र भीभीआईपीको उपचार नेपालमै हुने उद्घोष गरे।

यसअघि पनि अस्पतालको पुरानो भवनमा भीआईपी र भीभीआईपी कक्ष नभएका होइनन्। दुईवटा थिए। यसरी हेर्दा वीर अस्पतालमै अब दुई वटा भीभीआईपी र तीन वटा भीआईपी कक्ष भएका छन्।

तर, नौ वर्षदेखि अस्पतालको भीभीआईपी कक्ष प्रयोग नै भएको छैन। अस्पतालका उपसचिव सागर मिश्रले यसको पुष्टि गरे।

‘भीभीआईपी (क्याबिन)मा २०७१ देखि हालसम्म कसैले उपचार गर्नुभएको छैन,’ उनले भने, ‘२०७१ देखि हालसम्म ४१ जना भीआईपीले उपचार गर्नुभो।’

मन्त्रीले अनुगमन गरी क्याबिन सञ्चालनको निर्देशन दिएपछि मंगलबारबाट सर्जिकल भवनको तीन क्याबिन सञ्चालनमा आएको वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए।

पछिल्लो समय स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ, स्वास्थ्य राज्यमन्त्री हिराचन केसीलगायतले भीआईपी  क्याबिनमा भर्ना भएर सेवा लिएका थिए।

तर, हाल भएकै क्याबिनमा उपचारका लागि विशिष्ठ र अतिविशिष्ठ नगएको अवस्थामा सर्जिकल भवनमा क्याबिन थप्नु स्वास्थ्य मन्त्री बस्नेतको सस्तो लोकप्रियता कमाउने स्टण्ट मात्रै देखिन्छ।

स्वास्थ्य मन्त्री बस्नेतले तीन साताअघि अस्पताल र राज्यलाई नै आर्थिक भार पर्ने गरी जनरल बेड निःशुल्क गर्ने निर्णयको स्टण्ट गरेको थिए।

साउन ९, २०८० मंगलबार २०:३४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।