वीर अस्पतालमा शल्यक्रियापछि महिलाको मृत्यु, आन्तरिक छानबिन गर्न समिति
काठमाडौँ : वीर अस्पतालमा उपचाररत ५४ वर्षीय विष्णु कुँवरको आइतबार बिहान मृत्यु भयो। मिर्गौलाको शल्यक्रियापछि उनको मृत्यु भएको थियो।
उनका आफन्तले उपचारमा संलग्न युरो सर्जन डा. अनिल श्रेष्ठ लगायत चिकित्सकको टिमले लापरबाही गरेको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै अस्पतालको सर्जिकल भवन अगाडीको गेटमा धर्ना दिएका थिए।
आइतबार साँझ आफन्त र अस्पताल प्रशासन वार्तामा बस्यो र सहमति भयो।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार अस्पतालमा तिर्न बाँकी रकम अस्पतालले बेहोर्ने अनि आन्तरिक रूपमा घटनाको छानबिन गर्ने सहमतिपछि मृतकका आफन्त आन्दोलन रोक्न सहमत भएका थिए।
अस्पतालका उपसचिव सागर मिश्रले अस्पताल र मृतक पक्षबिच सम्झौता भएर शव लाने सहमति भएको जानकारी दिए।
अस्पतालमा मृतकको उपचारका क्रममा लागेको खर्च मिनाहा गर्ने अनि शव लैजान शव वाहनको व्यवस्था गरिदिएको उपसचिव मिश्रले जानकारी दिए।
सहमति अनुसार अस्पताल प्रशासनले युरो सर्जरी विभागका प्रमुख डा. रबिन बहादुर बस्नेतको संयोजकत्वमा दुई सदस्यीय आन्तरिक छानबिन समिति गठन गरेको छ।
समितिको सदस्यमा सोही विभागका युरो सर्जन डा. पारसमणि श्रेष्ठ छन्।
मृतक महिलाको शल्यक्रिया युरो सर्जन डा. अनिल श्रेष्ठको टिमले गरेको निर्देशक डा. पौडेलले पुष्टि गरे।
‘डा. अनिल श्रेष्ठको टिमले (शल्यक्रिया गरेको),’उनले भने।
बिरामीको उपचारका क्रममा शङ्का भयो भन्दै मृतकका आफन्तले उजुरी दिएपछि दुई सदस्यीय छानबिन टोली गठन गरिएको निर्देशक डा. पौडेलले बताए।
‘उहाँहरूले हाम्रो बिरामीको उपचारमा केही हेलचेक्राईं भयो की भन्ने शङ्का छ भन्नुभयो,’डा. पौडेलले भने,‘शुक्रवार नै उजुरी दिनुभएको छ। त्यसको बारेमा पनि हामीले अप्रेसनमा संलग्न बाहेकको टिम बनाएर काम गर्न दिएका छौँ।’
निर्देशक डा. पौडेलका अनुसार मृतक कुँवर असार १२ गते वीर अस्पतालमा भर्ना भएकी थिइन्। उनको दायाँतर्फको एउटा मिर्गौला काम नलाग्ने भइसकेको थियो। त्यसैले शल्यक्रिया गरी ती महिलाको मिर्गौला निकाल्नु पर्ने थियो।
युरो सर्जन डा. अनिल श्रेष्ठको टिमले असार १३ गते दूरबिनको माध्यमबाट शल्यक्रिया गरी मिर्गौला निकाल्यो। दूरबिनको माध्यमबाट गरिने यस्तो शल्यक्रियालाई ल्याप्रोस्कोपिक नेफ्रेक्टोमी सर्जरी भनिन्छ।
तर, त्यो शल्यक्रिया गर्दा बिरामीको आन्द्रामा चोट लाग्यो। मिर्गौलाको यसरी गरिने शल्यक्रियामा आन्द्रामा चोट लाग्ने सम्भावना हुने अस्पतालका निर्देशक डा. पौडेलको दाबी छ।
‘आन्द्रामा चोट लाग्ने सम्भावना केही न केही हुन्छ,’निर्देशक डा. पौडेलले भने।
शल्यक्रियापछि बिरामीले खाना खान सुरु गरिन् अनि चोट लागेको थाहा भयो। पुनः १६ गते शल्यक्रिया गरेर आन्द्रामा प्वाल परेको समस्या समाधान गरेको उनले बताए।
‘पुन अप्रेशन गरेर आन्द्रामा प्वाल परेको समस्याको समाधान गरियो,’डा. पौडेलले भने।
दोस्रो पटक शल्यक्रिया गरेपछि बिरामी ठिक हुँदै गएको उनको दाबी छ।
बिरामीलाई वार्डमा सारिएको थियो। बिरामीले खान पनि थालीकी थिइन्। तर साउन तीन गते अचानक महिलालाई पक्षघात (स्ट्रोक)को कारण मस्तिष्कमा रक्त सञ्चालन रोकियो।
‘पक्षघात पनि दुवै तर्फका धमनीमा ब्लक आएछ,’उनले भने।
त्यसपछि महिलाको चेतनाको स्तर घट्दै गएको र साउन तीन गतेदेखि आइसियुमा सारेर उपचार गरे पनि आइतबार बिहान ६ बजेर दश मिनेट जाँदा उपचारकै क्रममा महिलाको मृत्यु भएको निर्देशक डा. पौडेलले जानकारी दिए।
उनले शल्यक्रियाका कारण नभई अप्रत्याशित रूपमा आएको स्वास्थ्य समस्याका कारण बिरामीको मृत्यु भएको दाबी गरे।
साउन ७, २०८० आइतबार २२:०३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।