मौद्रिक नीतिबाट लगानीकर्ता उत्साहित, ६३.२४ अंकले बढ्यो नेप्से

मौद्रिक नीतिबाट लगानीकर्ता उत्साहित, ६३.२४ अंकले बढ्यो नेप्से

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ। 

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर घटाएको छ भने नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ। 

बैंकदर यथावत राख्ने, ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलव्ध गराउने र शेयर धितो कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने विषय पनि मौद्रिक नीतिमा राखिएको छ। उक्त नीतिका कारण ब्याजदर घट्ने अनुमान गरिएको छ। 

मौद्रिक नीतिमा यस्ता व्यवस्था आएसँगै पुँजीबजारका लगानीकर्ता उत्साहित भएका छन्। आज नेप्से परिसूचक ६३.२४ अङ्कले बढेर २२२७.१६ अङ्कमा कायम भएको छ। यो २.९२ प्रतिशतको वृद्धि हो।

जहाँ दुई सय ६६ कम्पनीको एक करोड २० लाख दुई हजार तीन सय आठ कित्ता शेयर ७५ हजार ८६ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३७ करोड ५१ लाख ९६ हजार दुई सय ३२ बराबरको कारोबार भएको छ।

सबै समूहको उपसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ। सबैभन्दा धेरै विकास बैंक समूह १९५.३६ र होटल तथा पर्यटन समूह १७७.२२ अङ्कले बढेको छ।

यस दिन कारोबारमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच लाख ७० हजार सात सय ५१ कित्ता शेयर किनबेच भएको छ।

साउन ७, २०८० आइतबार १६:१०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।