नेपालमा आदिपुरुषले एक करोड ९९ लाखको व्यापार गर्‍यो, पाँच सय २० रुपैयाँको व्यापार गर्ने फिल्म पनि छन्

नेपालमा आदिपुरुषले एक करोड ९९ लाखको व्यापार गर्‍यो, पाँच सय २० रुपैयाँको व्यापार गर्ने फिल्म पनि छन्

काठमाडौँ : गत वर्ष रिलिज भएको फिल्म शिवानीले जम्मा पाँच सय २० रुपैयाँको व्यापार गरेर रेकर्डै कायम गरेको छ। चलचित्र विकास बोर्डले बिहीबार सार्वजनिक गरेको गत वर्षको फिल्मको व्यापारको तथ्याङ्कमा ५७ नम्बरमा रहेको शिवानीको जम्मा पाँच वटा टिकट मात्र विकेको उल्लेख छ।

सो फिल्ममा उत्तम विष्ट, छुल्ठिम गुरुङ, निर्मल शर्मा'गैँडा' लगायतका कलाकारहरूको अभिनय थियो। सबैभन्दा कम व्यापार गर्ने फिल्मको दोस्रो नम्बरमा 'चोर र पुलिस' रहेको छ। यसको जम्मा एक सय ४ वटा टिकट विक्री हुँदा १८ हजार सात सय २५ रुपैयाँ व्यापार गरेको थियो।

कम व्यापार गर्ने सूचीको तेस्रो नम्बरमा रहेको'सरी मम' फिल्मले २३ हजार सात सयको व्यापार गरेको थियो। एक सय १२ जनाले यो फिल्म हेरेका थिए।

धेरै प्रचार गरिएको राधाले छ लाख ५० हजार मात्र व्यापार गर्यो। शो नदिएको भन्दै यो फिल्म बिचैमा हलबाट उतारिएको थियो। कृष्णलिला, बुलाकी,बहावले राम्रै प्रचार गरे पनि व्यापार १० लाख हाराहारी नि गर्न सकेनन्।

असारमा रिलिज भएको परस्त्रीकै जम्मा व्यापार १३ लाखको देखियो। फिल्म निर्माण टिमले फिल्म सुपर हिट हुने दाबी गरेका थिए। हलमा नचलेपछि निर्देशकले फिल्म फ्लप भएको स्वीकार गरेकी थिइन्।

अनमोल केसिको अभिनय रहेको छड्केको जम्मा व्यापार २७ लाख देखियो। बहुप्रतिक्षित भनिएको प्रसाद-२ ले ८१ लाखको ब्यापार गर्दा बाबरीले ९१ लाखको ग्रस कलेक्सन गर्यो।

गत आर्थिक वर्षमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड छक्कापञ्जा ४ ले राख्यो। सो फिल्म ६ लाख २९ हजार दर्शकले हेर्दा १७ करोड ५२ लाखको ग्रस कलेक्सन गर्न सफल भएको थियो। जारीले १७ करोड १७ लाखको व्यापार गरेर दोस्रो भयो। यो फिल्म अझैँ हलहरूमा लागिरहेको छ। प्रेम गीत ३ को नेपाली भर्सनले ७ करोड ७० लाखको व्यापार गर्दा यसैको हिन्दी भर्सनले २ करोड २७ लाखको व्यापार गर्यो। महापुरुषले ७ करोड ७० लाख र दुई नम्बरीले ३ करोड ८४ लाख व्यापार गरेको थियो।

नेपालमा रिलिज भएका विदेशी फिल्महरूमा पठानले सबैभन्दा धेरै १३ करोडको व्यापार गर्यो। दोस्रोमा रहेको अवतारले आठ करोड ३० लाख व्यापार गर्यो। आदिपुरुष बहिष्कारको अभियान चल्दा पनि एक करोड ९९ लाखको व्यापार गर्यो।

साउन ४, २०८० बिहीबार १७:०५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।