कडा आन्दोलनका कार्यक्रम सुरु गर्ने डा. गोविन्द केसीले चेतावनी

कडा आन्दोलनका कार्यक्रम सुरु गर्ने डा. गोविन्द केसीले चेतावनी

काठमाडौं : चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले आफूहरूको माग पूरा नभए कडा आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।

मंगलबार एक विज्ञप्ति निकालेर डा. केसीले सीटीईभीटीले नर्सिंग लगायतका विषयमा चर्को शुल्क बढाएको भन्दै शुल्क नघटाए कडा आन्दोलनका कार्यक्रम सरु गर्ने चेतावनी दिएका हुन्।

देश आर्थिक रूपमा थङ्थिलो भएको तथा सर्वसाधारणको आय खुम्चिएको अवस्थामा शुल्क बढाउु बिडम्बना भएको भन्दै उनले यसले विद्यार्थी र अभिभावकको ढाड सेक्ने निश्चित भएको बताए।

सीटीईभीटीले यसवर्ष नर्सिङ लगायतका अन्य प्राविधिक कोर्समा २५ देखि ३० प्रतिशतले शुल्क बढाएको छ।

यस्तै केसीले सीटीईभीटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो निर्णय भएको ठहर गरेका छन्।

साथै चिकित्सा शिक्षा ऐन अनुसार चिकित्सा शिक्षा आयोग बनिसकेको अवस्थामा आयोगको परामर्शविना सीटीईभीटीले शुल्क बढाउने निर्णय गर्नु गलत र बदनियतपूर्ण भएको उनको भनाइ छ।

‘शुल्क बढाउने निर्णय तत्काल खारेज गर्न तथा यसअघि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं,’ उनले अन्त्यमा भनेका छन्, ‘त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम शुरु गर्न बाध्य हुने जानकारी पनि गराउन चाहन्छौं।’

साउन २, २०८० मंगलबार १४:१९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।