आत्महत्या गरेका टिचिङका स्वास्थ्यकर्मीको सुसाइड नोट- ‘मलाई तिनीहरूले फसाउन खोजे’
काठमाडौं : काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गर्यो।
शुक्रबार बिहान उक्त सेन्टरका फार्मेसी इञ्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए। उनको परिवारले दिएको किटानी जाहेरीका आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसरले चार जनालाई पक्राउ गर्यो।
प्रशासन प्रमुख मनोजकुमार बस्नेत, फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई प्रहरीले शुक्रबार नै पक्रेको हो।
उनीहरूले मानसिक तनाब दिएकाले अमृतले आत्महत्या गरेको परिवारले आरोप लगाएका छन्।
अमृतले ‘आफूलाई फसाउन खोजिएको’ भनेर लेखेको पत्र पनि बरामद भएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
घटनबारे अहिले थप अनुसन्धान भइरहेको छ।
असार ३०, २०८० शनिबार १४:३८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।