टिचिङ अस्पतालका कर्मचारी मृत फेला, सुसाइड नोटका आधारमा प्रशासन प्रमुखसहित चार पक्राउ

टिचिङ अस्पतालका कर्मचारी मृत फेला, सुसाइड नोटका आधारमा प्रशासन प्रमुखसहित चार पक्राउ

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्।

सेन्टरको फार्मेसी प्रमुख अमृत पोखरेल झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेका हुन्। पोखरेल मृत फेला परेसँगै प्रहरीले अस्पतालका प्रशासन प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मृतकले लेखेको सुसाइड नोटका आधारमा अस्पतालका प्रशासन प्रमुखसहित चारजनालाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन्।

परिवारले आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताए।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

असार २९, २०८० शुक्रबार २२:१३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।