‘भीभीआईपी’को उपचार देशभित्रै गर्ने तयारी, विशेषज्ञ टोलीको सिफारिस पछि मात्र विदेश पठाइने

‘भीभीआईपी’को उपचार देशभित्रै गर्ने तयारी, विशेषज्ञ टोलीको सिफारिस पछि मात्र विदेश पठाइने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘भीभीआईपी’को उपचार देशभित्रै गर्न विशेषज्ञ चिकित्सकको समूह बनाउने तयारी भइरहेको बताएका छन्। 

राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सुर्तीजन्य पदार्थमा लाग्ने कर स्वरूपको झण्डै ६ अर्ब रुपैयाँ स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने माग राखे।

‘सातै प्रदेशस्तर र संघीयस्तरमा सबै विधाका विशेषज्ञ चिकित्सकको टोली बनाउने र भीभीआईपी कसैलाई पनि उपचार गर्नुपर्ने स्थितिमा सबैभन्दा पहिलो त्यो मेडिकल टोलीले उपचार गर्ने निर्णय गरेका छौं, त्यो टोलीको सुझावका आधारमा मात्र देशबाहिर उपचार गर्न सिफारिस गरिनेछ,’ उनले भने।

उनले करबाट प्राप्त रकमबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी थप्न सकिने बताए। उनले भने, ‘मन्त्रालयसँग एक चौथाइ दरबन्दी पनि छैन, म २२ वर्षअघि यस मन्त्रालयमा आउँदा ३३ हजार कर्मचारीको सङ्ख्या अहिले ३१ हजारमा सीमित छ।’

मन्त्री बस्नेतले जथाभाबी कर्मचारी नियुक्ति हुँदा अहिले समस्या देखिएको बताए। 
    
‘सबै चिकित्सकलाई राजधानी चाहिएको छ। कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशनलाई कडाइका साथ कदम चालेन भने मन्त्रालय सुधार्नसक्ने अवस्था छैन,’ उनले भने। उहाँले बेथिति हटाउनका लागि जोखिमका साथ कदम उठाएको जनाउँदै सदनको समेत सहयोगका लागि अपिल समेत गरे।

असार २८, २०८० बिहीबार १३:५६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।