‘बगान’ का निर्देशक सरोज खनालको दाबी दयाहाङको ' बिहे पास' ले केही असर पार्दैन

‘बगान’ का निर्देशक सरोज खनालको दाबी दयाहाङको ' बिहे पास' ले केही असर पार्दैन

काठमाडौँ : एकपछि अर्को फिल्म हलमा व्यापारिक रूपमा असफल भइरहेको बेला नेपाली फिल्म नै हलमा जुध्दैछन्। एकल पर्दामा आउँदा बलियै भनिएको फिल्म परस्त्री फ्लप भयो। तर पाठ सिक्ने कसले? शुक्रवार फिल्म ‘बगान’ अनि 'बिहे पास' आपसमै प्रतिस्पर्धामा आउँदै छन्।

तर निर्माण टिमकै सदस्यहरू भने त्यो फिल्मले केही असर पार्दैन भन्ने हावा दाबी गर्छन्। बगानका निर्देशक तथा कलाकार सरोज खनालले त्यस्तै दाबी गरे बिहीबार विशेष शोपछि

अभिनेता सरोजले आफ्नो फिल्मलाई अरू फिल्म चल्दा खासै असर नगर्ने दाबी मात्रै गरेनन् आफ्नो फिल्म अघिपछि जुनसुकैसँग भिड्न सक्ने अवस्थामा रहेको दाबी समेत गरे।

बिहे पास वैशाख एक गते रिलिज भएको फिल्म हो। त्यही दिन दयाहाङ राइको अभिनय रहेको 'जारी' पनि रिलिज भयो। 'जारी' हेरेका दर्शक'बिहे पास' तिर लागेनन्। 'जारी' हिट भयो।

फिल्म बगानको प्रिमियर शो मा खनाल र करिश्मा मानन्धरसहित।

त्यही आशमा यसका निर्माताले असार अन्तिममा आएर 'बिहे पास' पुन रिलिज गर्ने तारतम्य मिलाए। तर फिल्म निर्माण टिमले बिहे पासको त्यति प्रचार गरेका छैनन्। खनालले पाएको ठाउँ छाडेका छैनन्।

बिहीबारको विशेष शोमा आएका कलाकारहरूको प्रशंसाले हुनसक्छ खनाल आत्मविश्वासी नै देखिएका थिए। तर अहिले हिट मेसिन बनेका दयाहाङको अभिनय रहेको फिल्मलाई त्यति साह्रो चुनौती नदिएको भए उत्तमै हुन्थ्यो। किनकि आइतबारसम्ममा कुन फिल्म कति पानीमा भन्ने रिजल्ट आइहाल्छ।

जे होस् विशेष शोमा फिल्मको माइलेजका लागि करिश्मा मानन्धरले आफ्नै आमाको कथाको अनुभव भएको दाबी गरिन्। खनालले करिश्मालाई नै हेरेर फिल्म लेखेकाले उनले 'नो' भनेको भए फिल्म नै नबनाउने दाबी गरे। प्रिमियर शोमा सहभागी कलाकारहरुले प्रिमियर शोको धर्म निभाउँदै फिल्मको प्रशंसा गरे। 

असार २७, २०८० बुधबार २३:३०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।