स्वास्थ्य मन्त्रीको निर्णयमा सर्वोच्चको अंकुश, भक्तपुर क्यान्सर अस्पतालमा डा. पौडेलकै पुनर्बहाली

स्वास्थ्य मन्त्रीको निर्णयमा सर्वोच्चको अंकुश, भक्तपुर क्यान्सर अस्पतालमा डा. पौडेलकै पुनर्बहाली

काठमाडौं : सर्वोच अदालतले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक परिवर्तन गर्ने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्णयमा अंकुश लगाएको छ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले अस्पतालको कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेललाई काजमा मन्त्रालय तानेर डा. उज्जवल चालिसेलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

‘आन्तरिम आदेश जारी हुनु भनेको उहाँ (डा. विष्णुदत्त पौडेल)लाई तत्काल हटाउन पाइएन’, प्रवक्ता पौडेलले भने।

योसँगै डा. पौडेल अस्पतालको कार्यकारी निर्देशकमा पुनर्बहाली हुने बाटो खुलेको छ।

आफूलाई कार्यकारी निर्देशकबाट हटाएपछि डा. पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्जवल चालिसेलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए।

यस्तै इजलासले विपक्षीहरूको नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ।

मन्त्री बस्नेतले असार १९ गते मन्त्रीस्तरी निर्णय गर्दै पौडेललाई हटाएर निमित्त कार्यकारी निर्देशकमा डा. चालिसेलाई नियुक्त गरेका थिए।

कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुने भए पनि मन्त्री बस्नेतले डा. पौडेललाई करिब डेढ वर्ष कार्य अवधि बाँकी छँदै हटाएका थिए।

डा. पौडेल मन्त्रिपरिषद्को निर्णयबाट अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

असार २७, २०८० बुधबार १९:४०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।