डा. तोसिमा कार्कीले मागिन् स्वास्थ्यमन्त्रीको राजीनामा

डा. तोसिमा कार्कीले मागिन् स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेकी छन्।

मंगलबार स्वास्थ्यमन्त्री बस्नेतले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिलाई लिएर कार्कीले राजीनामा मागेकी हुन्।

सोमबार स्वास्थ्यमन्त्री बस्नेतले सरुवामा चित्त नबुझाएर केही स्वास्थ्यकर्मीले आत्महत्या गर्छु भनेर आएपछि आफूले डोरी दिएर झुन्डिन भनेको बताएका थिए।

‘केही मान्छेको सरुवा गर्यौँ, तर यहि ठाउँमा थमौती गर्नुपर्छ भनेर विभिन्न किसिमका तागतहरू प्रयोग गरेर आए। हुँदा-हुँदा कोही-कोही त यहाँ आत्महत्या गर्छु भनेर पनि पनि आएछन्,’ पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘सचिवहरूले त्यो कुरा मलाई भन्नुभयो। तर मैले त कुरा बुझ्या छु। उसो भए डोरी लगेर दिनुहोस् भनेँ, सचिवज्यूकोमा झुण्डिन मन लागेन भने मन्त्रीको गेटमा झुण्डिनुस् भन्दिनुँ भनिदिए।’

स्वास्थ्यमन्त्रीको उक्त भनाइलाई लिएर पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी डा. कार्कीले राजीनामा मागेकी हुन्।

‘पछिल्लो समय देशमा पेशागत नैरास्यताका कारण डाक्टर नर्स स्वास्थयकर्मीहरू विदेशिने मात्र हैन उनीहरूमा आत्महत्या गर्ने क्रम पनि बढ्दो छ। यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रको अभिभावक भएर तमाम देश भरीका स्वास्थ्यकर्मीहरूको श्रम पसिना र उनीहरूको दुःख त्यागको सम्मानजनक सम्बोधन गर्नुसाटो उल्टै यसरी निरुत्साहित गर्ने र आत्महत्या दुरुत्साहन गर्ने किसिमको भनाइ स्वयं स्वास्थ्य मन्त्रीबाटै आउनु खेदजनक मात्र हैन सम्पूर्ण स्वास्थ्यकर्मी र राष्ट्रलाई नै घातक हुनसक्छ। त्यसैले नैतिकताको आधारमा स्वास्थ मन्त्री महोन बहादुर बस्नेतले तत्कालै राजीनामा दिनुपर्छ्र।’

उनले समाजिक सञ्जालमा लेखेकी छन्-

असार २६, २०८० मंगलबार १९:५८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।