छ महिनाको लागि म धरान जाँदैछु : राजेन्द्र लिङ्देन

छ महिनाको लागि म धरान जाँदैछु : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले छ महिनाका लागि धरान उपमहानगरपालिका जाने बताएका छन्।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा पार्टीलाई स्थानीय तहसँग जोड्नका लागि आफूले छ महिना त्यहाँ बिताउने उनले बताए।

‘सबै नेता स्थानीय तहमा जोडिने सिलसिला प्रारम्भ भएको छ र म आफैँ धरान उपमहानगरपालिकामा छ महिनाको लागि जाँदैछु,’ उनले भने, ‘हरेक नेता ६ महिनाको लागि निश्चित स्थानीय तहमा जाने। दिनकै त्यहाँ रहन नसके पनि हरेक दिन त्यहाँ वडासँग जोडिँदै आफूले जिम्मेवारी लिएको भूगोमा संगठन मजबुद बनाउनुपर्छ।’

नयाँ तरिकाले पार्टीलाई अघि बढाउने भन्दै लिङ्देनले केही महिनाभित्र पार्टीको सबै कमिटीमा ३३ प्रतिशत महिला र ४० वर्षमुनिका युवालाई अनिवार्य सहभागी गराउने अभियान थालिने बताए।

देशको प्रधानमन्त्रीले लुकाउनुपर्ने कुरा पनि जनतमाझ राखेर लोकलाजसमेत नराखेको उनको भनाइ छ।

‘प्रधानमन्त्रीको मुखबाट आफूलाई प्रधानमन्त्री बनाउन विदेशी व्यपारी दिल्ली धाएको कुरा किन आउँछ?,’ उनले अगाडि थपे, ‘एकपटक मात्र होइन? उहाँले यसअघि फलानो–फलानो पार्टी मिलेर पार्टी बनाएर छिमेकीको लागि कम्फर्टेबल हुन्छ भन्नुभयो। यो सानो कुरा होइन।’

अध्यक्ष लिङ्देनले देश संघीयतामा गए पनि निर्णयको केन्द्र काठमाडौं नै भएको भन्दै गणतन्त्र, धर्म निरपेक्षता र संघीयतालाई सुधार नगरेसम्म देश ठिक बाटोमा नजाने बताए। साथै उनले कार्यकर्तालाई विश्राम नगरी युद्धस्तर संगठन विस्तारमा लाग्न निर्देशन दिए।

असार २३, २०८० शनिबार १४:५९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।