निजी स्वास्थ्य संस्थालाई बीमा दिँदैनौं : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिने बताएका छन्।
बुधबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिने कुरामा सरकारले आफ्नो धारणा बनाइसकेकाे बताएका हुन्।
बस्नेतले स्वास्थ्य बीमा सही ढङ्गबाट सञ्चालन हुन नसकेको पनि बताए। उनले बिरामी नभएकाहरूलाई डकुमेण्ट बनाएर खर्च गराउने कुराको नियन्त्रण हुन जरुरी रहेको बताए। बीमा बोर्डलाई पनि चुस्त बनाउन नसकेको स्पष्ट पारे।
मन्त्री बस्नेतले १० प्रतिशत उपचारसहितको बेड निःशुल्क गर्ने काम अहिले लागू भएको बताए। उनले १० प्रतिशत विपन्न, गरीवहरूलाई निःशुल्क उपचार गर्ने कुरा लागू गर्न स्थानीय सरकारलाई निर्देशन दिइसकेको बताए।
मन्त्री बस्नेतले जसअन्तर्गत वीर अस्पतालले ७ सय बेड निःशुल्क गरेको बताए।
कोशी अस्पतालले ३ सय ३० बेड, कान्ति बाल अस्पतालमा २२८ वटा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० बेड, प्रसुती गृहमा ४५० बेड, शहीद गंगालाल हृदय रोग केन्द्रमा ९० बेड र ट्रमा सेन्टरमा १५० बेड गरी जम्मा २ हजार २८ शैय्या विपन्न, गरिबहरुको उपचारका लागि छुट्याइएको बताए।
मन्त्री बस्नेतले २२ जिल्लाका विपन्न नागरिकहरु कार्ड नै बनाएर दिइसकेको र अन्य विपन्नलाई भने वडाको सिफारिसमा उपचार हुने व्यवस्था गरेको बताए।
असार १३, २०८० बुधबार १७:५२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।