ठूलो लगानी र स्टार कलाकार भए पनि सुपर फ्लप भएका यी फिल्म

ठूलो लगानी र स्टार कलाकार भए पनि सुपर फ्लप भएका यी फिल्म

दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ले भारतीय फिल्म उद्योगमा धेरै रेकर्ड बनाउन सक्ने आकलन गरिएको थियो। अभिनेता प्रभासका यसअघिका फिल्मले रेकर्डतोड व्यापार गरेका थिए। जसकै आधारमा यो फिल्मले पनि तहल्का मच्चाउने आम बुझाइ थियो। 

गत वर्ष दक्षिण भारतीय फिल्म उद्योगहरूले बलिउडलाई टक्कर मात्र दिएको थिएन, धेरै पछाडि छोडेको थियो। 'आदिपुरुष' ले पनि बलिउडका अन्य फिल्मका रेकर्ड तोड्ने व्यापार गर्न सक्ने अनुमान गरिएको थियो। तर फिल्म विवादित भयो। नेपालमा त यसको खुलेरै चर्को आलोचना भयो, नेपालमा हिन्दी फिल्मको मुख्य बजार काठमाडौँमै यो प्रदर्शन रोकियो।  

प्रभास नायक हुनु र रामायणमा आधारित कथालाई पर्दामा देखाउनु निर्माण पक्षका लागि दर्शक तान्ने दुई बलिया आधार थिए। तर जुन कनेक्सनका कारण फिल्मले ठूलो सफलता पाउने अपेक्षा गरिएको थियो, अहिले त्यसकै कारण ‘आदिपुरुष’ सबैभन्दा बढी मारमा परेको छ।

दर्शकको सम्झनामा गहिरिएर बसेका पात्रहरूबाट फिल्ममा हलुका भाषाका संवाद बोलाउनु नै ‘आदिपुरुष’ विवादको सबैभन्दा ठूलो कारण बनेको छ। यो विवादको असर यस्तो भयो कि सुरुका तीन दिनमा निकै कमाइ गरेको फिल्म त्यसपछि पूरै फ्लप भयो। 

रिलिजको दिन शुक्रबार थिएटरमा झण्डै ८७ करोड भारुको ओपनिङ कलेक्सन गरेको ‘आदिपुरुष’ले पहिलो साताको अन्त्यमा नै भारतमा २२१ करोडको नेट कलेक्सन गरिसकेको थियो। आइतबार फिल्मले भारतमा ६९ करोड कमाएको थियो, तर सोमबारबाट बक्स अफिसमा फिल्मको कमाइ ओरालो लाग्दै गयो। रिलिजको सातौँ दिन त फिल्मले मात्र ५ करोड भारु पनि कमाउन सकेन।  

भारतीय बक्स अफिसका अनुसार फिल्मले बिहीबार मात्र ४.८५ करोड भारु कमाएको थियो। एक सातापछि फिल्मको नेट इन्डिया कलेक्सन २६० करोड भारु भएको छ। अर्थात् पहिलो ३ दिनमा २२१ करोड कमाएको फिल्मले ४ दिनमा मात्रै ३९ करोड कमाएको छ।

दोस्रो शुक्रबारदेखि फिल्मको प्रदर्शन थप सुस्त भयो। विवादका कारण दोस्रो हप्तामा यसको कलेक्शनले निर्मातालाई निकै तनाव दिने देखिइसकेको छ। अर्थात् एक सातामै ‘आदिपुरुष’ले बक्स अफिसमा फ्लप भइसकेको छ। 

जसअनुसार ‘आदिपुरुष’ भारतमा ठूला लगानी भएका फ्लप फिल्मको सूचीमा नम्बर १ मा त पर्ने होइन भन्ने निर्माण पक्षलाई चिन्ता छ। 

पछिल्ला केही वर्ष यता धेरै ठूला बजेटमा बनाइएका फिल्महरू फ्लप भए। निकै आशा गरिएका ती फिल्महरू एक हप्तामै हलबाट उत्रिए, कुनै त एक साता पनि हलमा टिकेनन्। 

सन् २०१८ यस सन्दर्भमा बलिउडका ‘स्त्री’, ‘हिचकी’ र ‘बधाई हो’ जस्ता कम बजेटका फिल्मले निकै कमाइ गरे तर बलिउडका तीन सुपरस्टारहरू, सलमान खान, शाहरुख खान र आमिर खानका फिल्महरू एक हप्ताभित्रै बक्स अफिस सुपर फ्लप भएका थिए। 

यसको सुरुवात सलमान खानको ‘रेस ३’ बाट भएको थियो। सलमानको यो एक्शन थ्रिलर जुन २०१८ मा आएको थियो र भाइको स्टारडमले फिल्मले पहिलो ३ दिनमै १४४ करोड रुपैयाँभन्दा बढी कमाएको थियो। तर दोस्रो सातादेखि दर्शक फिल्मबाट टाढिन थालेका थिए। 

दोस्रो हप्तामा फिल्मले करिब २३ करोड मात्रै कमाउन सकेको थियो। ‘रेस ३’ ले १७० करोड कमाउन सफल भयो र सिनेमाघरबाट उत्रियो। 

आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’मा पनि त्यस्तै भयो। आमिरको यो भव्य प्रोजेक्टले पहिलो दिन ५२.२५ करोड कमाएर बलिउडमा ओपनिङ गर्ने कीर्तिमान बनाएको थियो। तर त्यसपछि फिल्मको नकारात्मक समीक्षाको प्रभाव देखिन थाल्यो र त्यसपछिका दुई दिनसम्म फिल्मको कमाई घट्दै गयो। यसका बाबजुद पनि आमिरको फिल्मले पहिलो तीन दिनमा १०५ करोड कमाएको थियो। 

एक हप्तामा १३९ करोड कमाएपछि फिल्मले दोस्रो हप्तामा करिब ९ करोड मात्रै कमाउन सक्यो। अन्ततः फिल्मको बक्स अफिस यात्रा १५१ करोड रुपैयाँमा टुंगियो। रिपोर्टका अनुसार २२० करोडभन्दा बढीको बजेटमा बनेको यो फिल्मको लागि ठूलो घाटा हो। 

यस्तै शाहरुखको ‘जिरो’ पनि त्यस्तै भयो। लुज स्क्रिनप्लेको सिकार बनेको ‘जिरो’ले पहिलो हप्तामा ५९ करोडको विकेन्ड कलेक्सनसहित ९० करोड कमाएको थियो। तर दोस्रो हप्तामा शाहरुखको फिल्मले ६ करोड मात्रै कमाउन सक्यो र फ्लप भयो। 

असार ९, २०८० शनिबार ०९:५२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।