३९ करोडमा मेसिन किनाएर चौरमा थन्काउने डा बस्नेत स्वास्थ्यमन्त्रीको सिफारिसमा भए न्याम्सको उपकुलपति
काठमाडौँ : अनियमितता नै अनियमितताको आरोपको चाङ लागेका डा भूपेन्द्र कुमार बस्नेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा नियुक्त भए।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई उपकुलपतिमा नियुक्ति गरेका हुन्।
मन्त्रालयका उच्च तहका एक कर्मचारीका अनुसार उपकुलपति नियुक्तिका लागि ११ जनाको आवेदन परेकोमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बनेको तीन सदस्यीय समितिले बस्नेतलाई सिफारिस गरेको हो।
बस्नेतलाई यस अगाडि नै स्वास्थ्यमन्त्री बस्नेतले निमित्त उपकुलपतिमा नियुक्त गरेकाले उनी नै उपकुलपतिमा नियुक्त हुने लगभग पक्का थियो।
उनी यस अगाडि कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निमित्त कार्यकारी अधिकारी थिए।
उपकुलपति बनाउन प्रक्रिया नै मिचियो
स्वास्थ्य मन्त्रालयले उपकुलपति छान्न सार्वजनिक सूचना निकालेको थियो। यस्तो सूचना निकालेपछि आवेदकमध्ये तीन जनाको नाम सार्वजनिक गरेर आफ्नो योजनासहित सिफारिस समितिमा आउन सूचना नै प्रकाशित हुन्थ्यो।
उपकुलपति छान्न आवेदनका लागि सूचना निकालियो। तर आवेदकमध्ये को-को छानिए भनेर तीन जनाको नाम सार्वजनिक गरिएन। एकै पटक डा बस्नेत नियुक्त भएको सूचना सार्वजनिक भयो बिहीबार।
तर, स्वास्थ्य मन्त्री र प्रधानमन्त्री दाहाललाई उनै विवादित जुनियर तहका बस्नेत प्रिय बने। त्यसैले उपकुलपतिमा उनैलाई दाहालले नियुक्त गरे।
बस्नेतलाई प्रतिष्ठानको उपकुलपति बनाउन स्वास्थ्य मन्त्री बस्नेत आफैँ सक्रिय थिए। डा बस्नेतलाई उपकुलपति बनाउन प्रजातान्त्रिक चिकित्सक सङ्घ र नेपाल चिकित्सक सङ्घका केही चिकित्सक सक्रिय थिए।
चिकित्सक सङ्घको निर्वाचनकै बेलामा सङ्घको अध्यक्षमा डा अनिल कार्कीलाई डा बस्नेतले समर्थन गर्ने र कार्कीले उनलाई उपकुलपतिमा नियुक्त गराउन सङ्घको तर्फबाट लबिङ गर्ने सहमति भएको जानकार स्रोत बताउँछ। सोही अनुसारै संघ नै डा बस्नेतको पक्षमा लागेको देखियो।
उनलाई उपकुलपति बनाउन पहिल्यै निमित्त बनाइयो। अनि जेठ २६ गते प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि कुलपति (प्रधानमन्त्री पुष्पकमल दाहाल) स्तरीय निर्णयले सहकुलपति (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत) को अध्यक्षतामा उपकुलपति सिफारिस गर्न तीन सदस्यीय समिति गठन भयो।
समितिमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. रोशन पोख्रेल थिए। समितिले तीन जना उम्मेदवारको नाम सिफारिस गरेपछि कुलपतिले तीमध्येबाट प्रतिष्ठानको उपकुलपति नियुक्त गर्नुपर्ने थियो।
स्वास्थ्य मन्त्रालयले समिति गठन भएको विषयमा सूचना जारी गर्यो। सूचनामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा १८ को उपदफा (२) बमोजिम उपकुलपति पदमा नियुक्तिका लागि सिफारिस गर्न सहकुलपतिको अध्यक्षतामा दुई सदस्य सर्च समिति बनेको उल्लेख छ।
सो पदका लागि प्रतिष्ठान ऐन तथा स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्त र मनोनयन सम्बन्धी मापदण्ड २०७३ अनुसार योग्यता पुगेका व्यक्तिहरूले सात दिनभित्र मन्त्रालयमा वा इमेल ठेगानामा आवेदन दिनुपर्ने उल्लेख थियो।
फागुनमा प्रतिष्ठानका पदाधिकारीको कार्यकाल सकिएको थियो।
उपकुलपति बस्नेतको ठुला तीन बदमासी
डा बस्नेत पटक पटक सरकारी नियुक्ति पाउने भाग्यमानी चिकित्सकमा पर्छन्। काँग्रेस निकट उनी जहाँ जहाँ नियुक्त भए बदनामी नै कमाएर हिँडे। उनका केही रेकर्ड :
रद्द विज्ञापनमा बढुवा प्रयास
उनी दसौँ तहका चिकित्सक हुन्। उनले ११ औँ तहमा बढुवा हुन रद्द भएको विज्ञापनलाई उपयोग गर्ने प्रयास गरेका थिए। उकेराले उनको चलखेलबारे निरन्तर समाचार प्रकाशित गरेपछि मिलेमतोमै बढुवा हुन गरिएको प्रयास असफल भयो। ११ औँ तहमा बढुवाको सिफारिसमा परेर पनि उनी १० औँ तहमै झरे।
३९ करोडको सरकारी स्रोत चौरमा
उनको अर्को कीर्तिमान हो ३९ करोडको टोमोथेरापी मेसिन खरिद प्रकरण। उनी वीर अस्पतालको निर्देशकहुँदा कुनै तयारी नै नगरी ३९ करोडमा टोमोथेरापी मेसिन किनेर हिँडेका थिए।
उनले हतारमा महँगोमा मेसिन किनेर निर्देशकबाट बिदा भए। क्यान्सरको जटिल उपचारमा प्रयोग हुने महँगो मेसिन अहिले पनि सशस्त्र प्रहरीको बलम्बुमा रहेको अस्पतालको चौरमा थन्किएको छ।
टोमोथेरापी मेसिन किन्दा स्वास्थ्यमन्त्री थिए गगन थापा। यो मेसिन खरिद प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको थियो।
४० करोडको खरिदमा नौ करोड अनियमितता
२०७४ मा ४० करोड ९८ लाखमा उनले इन्ट्राअपरेटिभ सिटी स्क्यान मेसिन किनेका थिए। त्यो बेलामा पनि उनी वीरकै निर्देशक थिए।
खरिद सम्झौतामा उनले वीर अस्पतालको निर्देशकको हैसियतमा कम्पनीसँग सम्झौता गरेको विषय प्रमाणसहित उकेराले प्रकाशित गरिसकेको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले २० करोड ४९ लाखका दरले करिब ४० करोड ९८ लाखमा दुई वटा ‘इन्ट्राअपरेटिभ सिटी मेसिन’ किन्दा नौ करोड कम प्रस्ताव गर्ने कम्पनीलाई दिएनन्। सेटिङमा महगों दरको टेन्डर स्वीकृत गरे।
सतर्कता केन्द्रको छानबिनमा सो खरिदमा अनियमितता भएको देखियो। अख्तियारमा फाइल पुग्यो। तर अनुसन्धान टुङ्ग्याएको छैन यसबारे।
यस्तो छ नियुक्तीको नियम
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को परिच्छेद–८ मा प्रतिष्ठानका पदाधिकारी , शिक्षक तथा कर्मचारीसम्बन्धी व्यवस्था छ।
ऐनको दफा–१६ को उपदफा ‘१’ मा प्रधानमन्त्री प्रतिष्ठानको कुलपति हुने व्यवस्था छ भने उपदफा ‘२’ मा कुलपति प्रतिष्ठानको प्रमुख हुने व्यवस्था छ।
ऐनको दफा–१७ को उपदफा ‘१’ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वा राज्यमन्त्री प्रतिष्ठानको सहकुलपति हुने व्यवस्था छ। त्यसैले मन्त्री बस्नेत चिकित्सा विज्ञान प्रतिष्ठानका सहकुलपति हुन्।
दफा–१७ को उपदफा ‘२’ मा भनिएको छ,‘सहकुलपतिले आवश्यकताअनुसार प्रतिष्ठानको निरीक्षण गर्न र प्रतिष्ठानलाई निर्देशन दिन सक्नेछ।’
त्यसैगरी ऐनको दफा–१८ मा उपकुलपति नियुक्तिलगायत व्यवस्था छ। दफा–१८ को उपदफा ‘१’ मा उपकुलपति प्रतिष्ठानको पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुने व्यवस्था छ।
दफा–१८ को उपदफा ‘२’ मा भनिएको छ,‘उपकुलपतिको पदमा नियुक्तिको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा अन्य दुई जना सदस्य रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिले उपकुलपतिको नियुक्ति गर्नेछ।’
त्यसैले मन्त्री बस्नेतको अध्यक्षतामा बनेको तीन सदस्यीय समितिको सिफारिसमा प्रधानमन्त्री दाहालले प्रतिष्ठानको उपकुलपतिको नियुक्त गरेका हुन्।
ऐनमा उपकुलपतिको पदावधि चार वर्षको हुने व्यवस्था छ।
त्यसैगरी ऐनको दफा–१९ मा शिक्षाध्यक्ष, रजिस्ट्रार तथा डिन रहने व्यवस्था छ। उपदफा ‘१’ मा उपकुलपतिको सिफारिसमा सहकुलपतिले शिक्षाध्यक्ष, रजिस्ट्रार तथा डिनको नियुक्त गर्ने व्यवस्था छ। यी पदाधिकारीको कार्यकाल पनि ४ वर्षको हुने व्यवस्था छ। त्यसैले उपकुलपति नियुक्ति भएपछि मात्रै अन्य पदाधिकारीको नियुक्ति उपकुलपतिको सिफारिसमा हुन्छ।
स्रोतका अनुसार वीर अस्पतालका पूर्वनिर्देशक डा. बुलन्द थापा, प्रतिष्ठानका निमित्त उपकुलपति डा. भूपेन्द्र कुमार बस्नेत, प्रतिष्ठानमा पूर्व डिन डा. पीयूष दाहाल, वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, डा. अनिल मिश्र, डा. दीपक थापा, डा. रेवती रमण मल्ल, डा. प्रवीण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग अस्पतालका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठ, कान्ति बाल अस्पतालका पूर्वनिर्देशक डा. अजित रायमाझी र डा. दीर्घराज जोशीले उपकुलपतिका लागि आवेदन दिएका हुन्।
उपकुलपतिका लागि तीन जना को को सिफारिस भए भन्ने सार्वजनिक सार्वजनिक समेत नगरी गुपचुपमा उपकुलपति नियुक्ति भएकाले कसैले यस विषयमा कानुनी प्रक्रिया अपनाएको खण्डमा उपकुलपतिको नियुक्ति नै बदर समेत हुन सक्ने एक सरोकारवाला उच्च तहका चिकित्सकले जानकारी दिए।
असार ७, २०८० बिहीबार २२:२१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।