काठमाडौं महानगरकाे वडा नम्बर ४ मा ‘सुलभ स्वास्थ्य चौकी’ सञ्चालन, ६८ वर्ष माथिकालाई निःशुल्क सेवा

काठमाडौं महानगरकाे वडा नम्बर ४ मा ‘सुलभ स्वास्थ्य चौकी’ सञ्चालन, ६८ वर्ष माथिकालाई निःशुल्क सेवा

काठमाडौं : काठमाडौं महानगरपालिकाको चण्डोलस्थित वडा नं. ४ मा शनिबारबाट ‘सुलभ स्वास्थ्य चौकी’ सञ्चालनमा आएको छ।

महानगरको वडा नं. ४ का वडाध्यक्ष दिनेश महर्जनले इजी हेल्थकेयर फाउण्डेशनसँग मिलेर ‘सुलभ स्वास्थ्य चौकी’को सुरु गरेको जानकारी दिए। यो सेवाले विशेषगरी महानगरस्थित वडा नं. ४ का वडावासीलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा लिन सहजता हुने उनले बताए।

महानगरको वडा नं. ४ का वडाध्यक्ष महर्जनले फार्मेसीमा भएको औषधिमा ३० प्रतिशत छुट दिने र ६८ वर्षमाथिका व्यक्ति बिरामी परेको खण्डमा अस्पताल लाने र ल्याउने काम फाउण्डेशनले निःशुल्क रूपमा गरिदिने जानकारी दिए।

‘६८ वर्षभन्दा माथिकालाई अस्पताल लाने र ल्याउनका लागि फ्रि सर्भिस पनि यो फाउण्डेशनले दिनेछ’, वडाध्यक्ष महर्जनले भने।

इजी हेल्थ केयर फाउण्डेशनका अध्यक्ष अखिल शाक्यले पनि ६८ वर्ष भन्दा माथिका व्यक्तिका लागि चिकित्सकले स्वास्थ्य जाँच गरेवापतको शुल्क (डक्टर्स फि) नलिने जानकारी दिए।

‘६८ वर्ष भन्दा माथिकालाई डाक्टर कन्सल्टेशन फ्रि हुन्छ,’ उनले भने, ‘जेनेरिक औषधिहरुमा हामी ३० प्रतिशतसम्म डिस्काउन्ट दिन्छौं। अरू औषधिहरूमा दशदेखि १५ प्रतिशत डिस्काउन्ट दिन्छौं।’

त्यसैगरी ‘नन् इमर्जेन्सी मेडिकल ट्रान्सपोर्ट भेहिकल’ मार्फत वडावासीले कुनै पनि बेला फोन गरेको खण्डमा ६८ वर्ष भन्दा माथिका उमेरका व्यक्तिलाई घरबाट अस्पतालसम्म पुर्याएर पुन घरमा नै ल्याएइदिनेसम्मको काम गर्ने फाउण्डेशनका अध्यक्ष शाक्यले जानकारी दिए।

‘६८ वर्ष भन्दा माथिकाले कुनै पनि बेला हामीलाई फोन गर्नु भयो भने घरबाटै लिएर अस्पताल पुर्याएर फेरी घरसम्म निःशुल्क लानेकाम पनि गरिरहेका छौंं’, उनले भने। 

फाउण्डेशनसँग अहिले सात वटा गाडी रहेको र तिनै गाडीमार्फत विरामी लाने ल्याउने लाने काम गरिरहेको शाक्यले जानकारी दिए। अझै ४/५ वटा गाडी थप्ने तयारीमा रहेको उनले बताए।

सो स्वास्थ्य चौकीमा बिहान साढे सात बजेदेखि बेलुकी साढे सात बजेसम्म निक्कै सस्तो मुल्यमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध हुने वडाध्यक्षले जानकारी दिए। हाललाई विहान नौ बजेदेखि १२ बजेसम्म चिकित्सकले सेवा दिनेछन्।

शनिबार उद्घाटन भएको पहिलो दिन व्यक्तिहरूले निः शुल्क स्वास्थ्य जाँच गराउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ।

स्वास्थ्य चौकीको उद्घाटन भएको पहिलो दिन तीन सय भन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराएको र करिब ३० जनाले रक्तदान गरेको शाक्यले जानकारी दिए।

असार २, २०८० शनिबार २२:४८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।