नीरफूल : निर्देशक, सिनेमेटोग्राफर र दृश्य सम्पादकबीच कतिसम्म झुर काम गर्ने भन्ने प्रतिस्पर्धा गरिएको फिल्म

नीरफूल : निर्देशक, सिनेमेटोग्राफर र दृश्य सम्पादकबीच कतिसम्म झुर काम गर्ने भन्ने प्रतिस्पर्धा गरिएको फिल्म

२०७२ सालको महाभूकम्पले काठमाडौं आसपासका जिल्लालाई तहसनहसै पार्यो। भूकम्पका कारण घर लडेर थुप्रैले ज्यान गुमाए । हजारौँ घाइते भए।

आठ वर्षअघिको त्यो विपद्लाई फर्केर हेर्दा झसङ्ग नहुने कमै होलान्।

आफूले टेक्ने जमिन हल्लिएको अनि घरै भताभुङ्ग भएको अवस्थामा घरमुली नहुँदा एउटी महिला कति पीडामा पर्न सक्छिन्? अझ घरले थिचेको सन्तानको खोजी अनि उद्धार। उद्धारपछि उपचारका लागि लगिएको छोरी बेपत्ता हुँदाको विपत्तिमा आमाको अवस्था कति दर्दनाक हुन्छ होला! 

यता छोरी नै बेपत्ता। त्यही बेला परदेशमा रहेका श्रीमान्को निरन्तर गाली। यस्तै पीडालाई मुल कथा बनाएर बनेको फिल्म हो ‘नीरफूल’।

फिल्ममा अनेक पीडा भोगिरहेकी छन् धादिङ रुबी भ्यालीकी स्यरल्हामु (शान्ति वाइबा)। उनका श्रीमान् चेन्जारोङ (दयाहाङ राई) विदेश गएको केहि महिनामा नै छोरी भूकम्पमा पर्छिन्।

छोरी हराएको पीडाले छटपटिएका चेन्जारोङ रित्तै नेपाल फर्कन्छन् अनि छोरी पिङ्चावतीको खोजीमा भौतारिन्छन्। श्रीमान्भन्दा पहिल्यै काठमाडौं आएकी हुन्छिन् स्यरल्हामु। उनी र उनको भाषालाई काठमाडौंले चिन्दैन।

काठमाडौंमा झाङ्गिएको भाषा र क्षेत्रगत विभेद अनि छोरी खोज्न भौतारिएका आमा-बाबुको कथालाई निर्देशक फूलमान बलले बलियो बनाएका छन्। उनले उठाएको कथा गम्भीर पनि लाग्छ। तर, कथा अनुसार पटकथा गतिलो नहुँदा गतिलो फिल्म बन्न चुक्यो ‘नीरफूल’। 

पटकथाकै कारण दर्शकलाई २ घण्टा ८ मिनेट बाँधेर राख्न असफल हुन्छ फिल्म। स्यरल्हामुको दैनिकीमा पीडा छ। तर उनको पीडाले दर्शकलाई छुनै सक्दैन।

फिल्ममा घुसाइएका अनावश्यक दृश्यले दर्शकलाई दिक्क बनाउन सक्छ। फिल्ममा अनावश्यक दृश्य टन्नै छन्। सम्पादन गर्न किन लोभ गर्यो निर्माण टिमले उनीहरू नै जानुन्।

निर्देशक बलले फिल्ममा मूल कथाभन्दा तामाङ समुदायको रहनसहन, संस्कृति र पहिचानको मुद्दालाई बढी ध्यान दिएको प्रष्टै देखिन्छ। फिल्म तामाङ संस्कृतिको महत्व र अवस्थाबारे हैन, छोरी गुमाएको एक दुर्गम भेगको नागरिकमाथि राज्यले गर्ने व्यवहारबारे हो। तर, यो बिर्सिए निर्देशकले।

तामाङ कलाकार हुन् रुवीभ्यालीको कथा भएर हो। यो कथा क्षेत्र हुम्ला भएको भए अर्को समुदायका पात्र हुन्थे। यो जनकपुरको कथा भएको भए अर्कै पात्र। फिल्मको मुटु पात्रको संस्कृति र रहनसहन हैन, राज्यको केन्द्रले दुर्गमका आफ्नै नागरिकलाई नचिन्दाको अवस्था केन्द्रित हुनुपर्ने।

तर निर्देशक यही मौकामा तामाङको रहन-सहन अनि संस्कृति पनि अलि देखाइहालौं न भन्ने लोभमा फसेको प्रष्ट देखिन्छ। उनी यसमा त सफल भए तर राम्रो कथामा राम्रो फिल्म निर्देशन गर्न चुके।

फिल्ममा दयाहाङलाई घुमाइरहेका निर्देशकले अर्का चल्तीका कलाकार बुद्धि तामाङलाई फोटोग्राफरका रूपमा प्रस्तुत गरेका छन्। २ घण्टा भन्दा लामो फिल्ममा उनी कमै देखिन्छन् पर्दामा।

बलले बुद्धिको अभिनय क्षमता प्रयोग गर्न चुकेको देखिन्छ फिल्ममा। फिल्ममा तामाङ भाषाको संवादलाई जोड दिइएको छ। तामाङ भाषा नबुझ्नेलाई नेपाली सबटाइटल समेत छ।

फिल्मको अर्को सशक्त कलाकार हुन् सरोज अर्याल। उनी फिल्ममा लीलानाथको भूमिकामा छन्। सरोजले ‘लीलानाथको लीला’ भन्दै डान्सबारदेखि अनाथ गृह सञ्चालकसम्मको भूमिका निर्वाह गरेका छन्। 

उनको अभिनयले दर्शकलाई एकैछिन भए पनि मनोरन्जन दिन्छ। उनको अभिनय बलियो देखिन्छ। चालकको भूमिकामा रहेका राजन खतिवडाको क्यारेक्टर ठिकठिकै छ।

लामो समय कला पत्रकारिता गरेको अनुभवका कारण निर्देशक बलले फिल्ममा ‘पत्रकारिता क्षेत्र कतिसम्म असंवेदनशील छ, भन्ने बेलामा आवाज विहीनहरूको आवाज भन्छ तर व्यवहारमा चर्को आवाज हुनेहरूको आवाज मात्र सुन्छ’ भन्ने यथार्थ पस्कने प्रयास गरेका छन्।

फिल्मको अन्तिम दृश्यमा चेन्जारुङले खोला तर्दै गर्दा भगवानलाई नीरफूल चढाउन खोज्दा छोरी पिङ्चावतीले भन्छिन्, ‘देउतालाई यो फूल चल्दैन।’

अनि ‘अब चलाउनुपर्छ’ भन्ने संवादले परिवर्तनको पक्षमा आवाज उठाएको छ।

फिल्मले परिवर्तनको आवाज उठाउने प्रयास त गर्यो तर पटकथामा भने कुनै परिवर्तन देखाउन सकेन। कथा कसिलो हुँदा-हुँदै पटकथामा चुक्दा कतिसम्म झुर फिल्म बन्छ भन्ने उदाहरण बनिदियो ‘नीरफूल’। अब निर्देशकले बुझ्नैपर्छ ‘एकादेशमा एक राजा थिए अनि रानी थिइन्’ भन्ने कथ्य शैलीले अब दर्शक तानिँदैनन्।

पटकथा त भइ नै हाल्यो। सिनेमेटोग्राफर अनि सम्पादकले पनि कसको काम सबैभन्दा झुर बनाउने भनेर प्रतिष्पर्धा नै गरेझैँ भान हुन्छ।

फिल्म निर्देशन भनेको शोख मात्रै हैन। हेरेकै भरमा ‘एक्सन-कट’ भनिहाल्छु नि भन्दा ‘यो प्राविधिक पक्ष पनि हो है’ भन्ने मात्र महसुस गरी होमवर्क गरेर निर्देशनमा आउने हो भने नयाँ निर्देशकको बलको जत्तिको बिल्ला पक्कै हुने थिएन।

तर, उनले एक साहस भने गरेका छन् है। त्यो हो नेपाली भाषाको मोह त्याग्ने। जोखिमै मोलेर उनले नेपाली भाषा प्रयोग गर्न सकिने स्थानमा पनि तामाङ भाषालाई प्राथमिकता दिएर नेपाली सब टाइटल प्रयोग गरेका छन्।

एकल भाषा अनि एकल भेषको बढ्दो दबदबा मेट्न ‘हामी सयौँ थुंगामा बेरिएका एक माला हौँ, एकै फुलका सयौँ माला हैन’ भन्ने यथार्थ देखाउने प्रयास सरहानिय छ।

जेठ ३१, २०८० बुधबार ०९:२८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।