नाम दर्ता प्रमाणपत्रका लागि असार २३ र २५ गते नर्सहरूको परीक्षा

नाम दर्ता प्रमाणपत्रका लागि असार २३ र २५ गते नर्सहरूको परीक्षा

काठमाडौं : नेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्रका लागि आगामी असार २३ र २५ गते परीक्षा लिने भएको छ।

शनिबार एक सूचना निकालेर परिषद्ले नाम दर्ता प्रमाणपत्रका लागि फारम बुझाउन असार ११ गतेसम्मको समय दिएको छ। दोब्बर दस्तुर तिरेर १४ गतेसम्म फारम बुझाउन सकिने परिषद्को परीक्षा शाखाले जनाएको छ।

परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत असार २३ गते पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ र मिडवाइफरी साइन्समा स्नातक उत्तीर्ण गर्नेहरूको परीक्षा हुनेछ।

यस्तै असार २५ गते भने परिषद्ले पहिलो पटक विशेषज्ञ नाम दर्ता परीक्षा गर्न लागेको हो। यो परीक्षामा सहभागी हुनका लागि नर्सिङमा स्नातकोत्तर उत्तीर्ण गरेका हुनुपर्नेछ।

परिषद्ले नर्सको हकमा ३ हजार १ सय रुपैयाँ, मिडवाइफरीको हकमा ४ हजार १ सय रुपैयाँ र विशेषज्ञ नर्सको हकमा ५ हजार १ सय रुपैयाँ परीक्षा दस्तुर तोकेको छ।

नाम दर्ता परीक्षाको लिखित परीक्षामा नर्सिङ र मिडवाइफरी गरी दुवै विधाका लागि १५० प्रश्नहरू सोधिनेछ। त्यसको पूर्णाङ्क पनि १५० नै हुनेछ। जसमा उत्तीर्ण हुन ५० प्रतिशत अङ्क ल्याउनुपर्नेछ।

त्यसैगरी मिडवाइफरीको हकमा थप ५० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा पनि हुनेछ। जसमा उत्तीर्ण हुनका लागि परीक्षार्थीले ८० प्रतिशत अङ्क प्राप्त गर्नुपर्नेछ।

विशेषज्ञ नाम दर्ता परीक्षाका लागि १५० पूर्णाङ्कको कम्प्युटरमा आधारित १५० प्रश्नहरू सोधिनेछ। जसमा उत्तीर्ण हुन ६० प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ।

जेठ १३, २०८० शनिबार ०८:४९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।