वीरमा मन्त्री बस्नेतको निरीक्षण : ड्युटीमा नबस्नेलाई कारबाही गर्न निर्देशन, हाजिर र ड्युटी रोष्टर लिएर गए

वीरमा मन्त्री बस्नेतको निरीक्षण : ड्युटीमा नबस्नेलाई कारबाही गर्न निर्देशन, हाजिर र ड्युटी रोष्टर लिएर गए

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार दिउँसो वीर अस्पताल पुगेर ड्युटीमा नबस्ने कर्मचारीलाई कारबाही गर्न अस्पताल नेतृत्तवलाई निर्देशन दिएका छन्।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलगायतका कर्मचारी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरूमा जाने गरेको पाइएकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारबाही गर्न उनले निर्देशन दिएका हुन्।

‘सुरुमा हामी चिकित्सकहरूलाई ड्युटी समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्छौँ,’ उनले भने, ‘तर, हाम्रो अनुरोधलाई कमजोरी ठाने कारबाही गरिनेछ।’

मन्त्री बस्नेतले अस्पतालको शुक्रबार एक दिनको हाजिर र एक महिनाको ड्युटी रोष्टर लिएका छन्। उनले एक हप्ताभित्र बिरामीलाई महसुस हुने गरी अस्पतालको सेवामा सुधार गर्नसमेत निर्देशन दिए।

वीर अस्पतालको सेवा नसुध्रिएसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने भन्दै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनुपर्नेमा जोड दिए।

वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ।

मन्त्रीको निरीक्षणको क्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का निमित्त उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अस्पतालले दिइरहेको सेवासुविधाको वियायमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए।

मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आईसियू, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्वपूर्ण विभागहरुको निरीक्षण गरेका थिए।

मन्त्री बस्नेतले टिकट काउण्डरको भीड कम गर्न र सेवा सहज बनाउन अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरि व्यवस्था गर्न निर्देशन दिए। अस्पतालमा रहेका बेड र आईसीयू बेड खाली भए नभएको जानकारी वेबसाइटमा राख्नसमेत अह्राए।

मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको ९ शय्याको आईसीयू एक साताभित्रै सञ्चालनमा ल्याउन, आकस्मिक कक्ष र इाडलाइसिसमा शय्या थप्नसमेत निर्देशन दिए।

त्यसैगरी मन्त्रीसँगै वीर अस्पताल पुगेका सचिव रोशन पोख्रेलको टोलीले राष्ट्रिय ट्रमा सेन्टर पुगेर कर्मचारीको दुई दिनको हाजिर समेत लिएको ट्रमा स्रोतले जानकारी दियो।

‘मन्त्रीज्यूू हामीकहाँ छिर्नुभएन। सचिव रोशन डाक्टरसाप हाम्रोमा हुनुहुन्थ्यो। सचिवज्यूको टोलीले हिजो र आजकोे हाजिर लानुभयो।’

जेठ १२, २०८० शुक्रबार १८:२८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।