मङ्गलवारबाट सुरु भएको नेप्सेको उकालोयात्रा जारी,कारोबार रकम एक अर्ब ६० करोड नाघ्यो

मङ्गलवारबाट सुरु भएको नेप्सेको उकालोयात्रा जारी,कारोबार रकम एक अर्ब ६० करोड नाघ्यो

काठमाडौँ : गत साता मङ्गलवारदेखि  उकालो लागेको नेप्सेमा यो साताको पहिलो दिन आइतबार पनि सुखद कारोबार भयो। निरन्तर ओरालो लागिरहेको नेप्से मङ्गलवारबाट उकालिन थालेको थियो।

आइतबार नेप्से परिसूचक ५.८८ अङ्क बढेर १८८३.२० विन्दुमा पुगेर बजार बन्द भयो। सेन्सेटिभ इन्डेक्स ०.१४ अङ्क, फ्लोट इन्डेक्स ०.२८ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०२ अङ्क बढ्यो।

नेप्सेमात्र हैन कारोबार रकम पनि बढेको छ आइतबार पनि। बिहीबार करिब डेढ अर्बको शेयर कारोबार भएकोमा आइतबार २७३ स्टकको ३४ हजार ३३१ पटकको कारोबारमा १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबर भयो। आइतबार ४८ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जानकारी दिएको छ।

आइतबार राष्ट्रिय बिमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सनराइज फोकस्ड इक्विटी फण्डको इकाई मूल्य करिब ८ प्रतिशत बढ्यो। पोखरा फाइनान्सको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढ्यो।

कारोबारमा आएको आदर्श लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.५६ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा आइतबार शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो। शिवमको ६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

राष्ट्रिय बिमा कम्पनीको ५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। १३ उपसमूहमध्ये आइतबार ९ उपसमूहको परिसूचक बढेको थियो। ४ उपसमूहको परिसूचक घट्यो।

जेठ ७, २०८० आइतबार १७:२८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।