लकडाउनले रोकिएको 'नीरफूल'को ट्रेलर रिलिज

लकडाउनले रोकिएको 'नीरफूल'को ट्रेलर रिलिज

काठमाडौँः आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ।

२०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको सो फिल्म कोरोनाको लकडाउनका बेला हलहरू बन्द भएपछि रिलिज रोकिएको थियो। 

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत फिल्मको निर्देशन लेखक तथा सञ्चारकर्मी फूलमान वलले गरेका हुन्।

युट्युबमार्फत आज सार्वजनिक ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौँ ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखाएको छ। 

पटकथा लेखकसमेत रहेका निर्देशक वलले भूकम्पले भत्काएका मनहरूलाई फिल्म ‘नीरफूल’ मार्फत जोड्ने प्रयास गर्न खोजेको बताए।

'भूकम्पपछि भौतिक पुनर्निर्माण त भयो, तर भत्किएका सम्बन्धहरूको पुनर्निर्माण अझै बाँकी छ', उनले भने,'नीरफूल तिनै भत्किएका सम्बन्धहरूको सानो कथा हो।'

अभिनेता दयाहाङ राईले स्क्रिप्ट लोभ लागेकै कारण अरू फिल्मको व्यस्तताबीच पनि ‘नीरफूल’लाई समय निकालेर रुबी भ्याली पुगेको बताए।

'अन्य फिल्ममा भन्दा निकै फरक भूमिका यो फिल्ममा गरेको छु', उनले भने।

नेपालका फिल्ममा समाज आएन, कन्टेन्ट आएन भन्ने आरोप नेपाली फिल्मकर्मीलाई लागिरहेका बेला ‘नीरफूल’ले त्यो अभाव पूर्ति गर्ने उनले दाबी गरे।

धादिङको रुबी भ्याली, रसुवाको स्याफ्रुबेँसीसँगै काठमाडौँमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन्।

सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन्। निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको फिल्ममा संगीत छ। 

नेपाल-म्यानमार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायत कलाकारको पनि अभिनय छ।

वैशाख २९, २०८० शुक्रबार १७:५७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।