‘ज्याकी’ नचल्दा निर्देशकको निन्द्रा गायब

‘ज्याकी’ नचल्दा निर्देशकको निन्द्रा गायब
फिल्म ‘ज्याकी’की निर्देशक रेनाशा राई र नायक धिरज मगर

काठमाडौं : शुक्रबार नयाँ फिल्म रिलिज हुने नियम तोडेर बिहीबारदेखि फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ रिलिज भयो।

नियम तोडेको फिल्मले व्यापारको रेकर्ड भने तोड्न सकेन। व्यापार सुस्तै रह्यो। फिल्म फरक जनारामा बनेको छ। निर्माण टिम अनि कलाकारले मिहिनेत नगरेका पनि हैनन्। तर फिल्म नेपाली भाषा अनि कलाकारमा मात्र नयाँ हो।

अन्यत्रको कुरा छाडौँ, भारतमा यही जनारामा प्रोफेसनल किरियोग्राफर रेमो डिसुजाले प्रोफेसनल डान्सरसहित मिलेर बनाएको फिल्मले नेपालमा पनि राम्रै दर्शक पाएको थियो।

तर, ‘ज्याकी’ले त्यति दर्शक पनि पाउन नसकेपछि फिल्मकी निर्देशक रेनाशा राईको निन्द्रै गायब भएछ। उनी मिडियामा यस्तै भन्दैछिन्। उनी मात्र हैन फिल्म हेर्न हल पुगेका दर्शक पनि छक्क छन् रे कम दर्शक देखेर।

कतै फिल्ममै कुनै कमजोरी पो भयो कि भन्नेतिर हैन, उनी समय अनि रिलिज डेटलाई दोष दिइराखेकी छिन्। फिल्मले राम्रै प्रचार गरेको हो। तुलनात्मक समीक्षा पनि सकारात्मक नै आएका थिए। तै पनि दर्शकलाई हलसम्म तानेन फिल्मले।

साच्चिकै फिल्मले दर्शकको मन छोएको भए हेरेका थोरै दर्शकले दिने सकारात्मक प्रतिक्रियाले पनि दर्शक हलसम्म आउनसक्थे। प्रचार कमजोर भएको तर राम्रो बनेको फिल्म माउथ एड्भर्टिज्मेन्टबाट पनि चलेका थिए। तर यसमा त्यसले पनि काम गरेको देखिएन।

कथा फरक हुँदैमा फिल्म उत्कृष्ट हुने भन्ने हुन्न। यति त रेनाशालाई ज्ञान नहुने कुरै भएन। उनले भने अनुसार रिलिज समय भने अलि नमिलेको हुनसक्छ। कारण ‘जारी’को प्रभाव।

आर्थिक अवस्था खस्किरहेको बेलामा हरेक साता दर्शक हलसम्म पक्कै जान सक्दैनन्। चाहँदैनन्। ‘छक्कापन्जा-४’ अनि ‘जारी’ हेर्ने दर्शक तत्काल हल फर्किने सम्भावना कमै छ। तर ती त्यही ७-८ लाख न हुन्।

‘ज्याकी’को जनारासँगै दर्शक पनि अलग हुन्। कतै लक्षित दर्शक जो कमै हलमा आउँछन् तीसम्म फिल्मकर्मी पुग्न नसकेको पो हो कि! यता पनि ध्यान दिए दर्शक बढ्लान् कि!

वैशाख २६, २०८० मंगलबार २०:१५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।