सत्ता गठबन्धन बैठकको निष्कर्षः प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु पर्दैन

सत्ता गठबन्धन बैठकको निष्कर्षः प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु पर्दैन

सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको माओवादी केन्द्र, कांग्रेस, र जसपा लगायत सत्तारुढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो । 

बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, 'प्रधानमन्त्रीले अब फेरि विश्वासको मत लिनुपर्ने कानुन छैन, आजको बैठकमा भोलिदेखि चल्ने संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।'

अहिलेको बजेट र नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिने भनेर प्रधानमन्त्रीले बैठकमा सुझाव मागेका सचेतक पाण्डेको भनाइ छ ।

बैठकमा संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकतालगायत विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । बैठकमा अधिवक्तासँग पनि प्रधानमन्त्रीले सुझाव लिएका थिए। 

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने चर्चा चलिरहेका सन्दर्भमा गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा समेत छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी थिए।

त्यस्तै कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी थिए।

जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत पनि बैठकमा उपस्थित थिए। 

वैशाख २३, २०८० शनिबार २१:४५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।