नेप्से दोहोरो अङ्कले घट्दा पनि तीन कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा
काठमाडौँ : साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक १८.८० अङ्कले घटेर १८८५.६० विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ४ अङ्क घटेको छ। फ्लोट इन्डेक्स १.४५ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४९ अङ्क घटेको छ।
नेप्सेसँगै कारोबार रकम समेत घटेको छ। गत बिहीबार ९८ करोडको शेयर कारोबार भएको थियो। आइतबार २६५ स्टकको ३१ हजार ४१५ पटकको कारोबारमा ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँको मात्र कारोबार भएको छ।
नेप्से घट्दा पनि तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सनराइज ब्लुचिप फन्ड, आदर्श लघुवित्त र कालिन्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य करिब ७ प्रतिशत बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम छ। आइतबार सनराइज फोकस्ड इक्विटी फन्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भयो।
एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड २ को इकाई मूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा मोलुङ्ग हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो। शिवम् सिमेन्ट्सको करिब ३ करोडको शेयर किनबेच भयो।
१३ उपसमूहको परिसूचकमध्ये होटेल तथा पर्यटन उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ। होटेल तथा पर्यटन उपसमूहको परिसूचक ०.३१ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक २.०१ अङ्क घटेको छ। बैंकिङ्ग, विकास बैङ्क, जलविद्युत, जीवन बिमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
वैशाख १०, २०८० आइतबार १६:०४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।