नयाँ वर्षको​​​​​​​ व्यापार खान आजदेखि एकैसाथ तीन चलचित्र हलमा

नयाँ वर्षको​​​​​​​ व्यापार खान आजदेखि एकैसाथ तीन चलचित्र हलमा

काठमाडौं : नयाँ वर्षको अवसरमा आज तीन नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आएका छन्। शुक्रबारदेखि  ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन्।

यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन हुने भए पनि जाँचपास नभएपछि वैशाख १५ गतेका लागि नयाँ मिति तय गरेको छ।

नयाँ वर्षमा नेपाली चलचित्रको व्यापार हुने समय बुझिन्छ। यो मितिमा प्रदर्शन भएका चलचित्रले विगतमा पनि राम्रो व्यापार गरेका कारण नै तीन चलचित्र एकैसाथ प्रदर्शनमा आएका हुन्।

अभिनेता दयाहाङ राई अभिनीत दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शनमा आएका छन्। लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानको कथा रहेको छ।

उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतले अभिनय गरेका छन्।

दयाहाङ राई नै अभिनित ‘बिहे पास’ मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतले अभिनय गरेका छन्। प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु रहेको छ। 

जारी प्रथालाई कथा बनाइएको चलचित्र हो, ‘बुलाकी’। कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गरेका हुन्। सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले  यसमा अभिनय गरेका छन्।

वैशाख १, २०८० शुक्रबार ११:४८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।