सेयर बजारमा परिसूचक र कुल मूल्य कारोबार रकमबिच लुकामारी, एउटा घटे अर्को बढ्छ, अर्को बढे घट्छ
काठमाडौँ : यो वर्षको अन्तिम साता सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकमबिच लुकामारी चलिरहेको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक घट्दा कारोबार रकम बढेको थियो। सोमबार परिसूचक बढ्यो तर कारोबार रकम घट्यो।
साताको दोस्रो कारोबार दिन परिसूचक ५.५४ अङ्कले बढेर १८४४.०२ बन्द भयो। सोमबार बैङ्किङ सहित अधिकांश उपसूचक बढेका थिए। तर वित्त कम्पनी उपसूचक घट्यो। होटेल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले बढ्यो। बैङ्किङ उपसूचक ०.३५ प्रतिशतले बढेको थियो। वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले घट्यो।
आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएर बजार बन्द भएको थियो। सोमबार जम्मा ९१ करोड २० लाख रुपैयाँको मात्र सेयर कारोबार भयो। ३५ हजार ५ सय ४९ वटा कारोबारमा २९ लाख ६० हजार ८६३ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको थियो।
नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १३२ कम्पनीको सेयरमूल्य बढ्यो। ७७ कम्पनीको सेयरमूल्य घट्दा ८ कम्पनीको स्थिर भयो।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ८४ लाखको कारोबार भयो भने सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६६ लाख र एनआईसी एसिया बैङ्कको २ करोड ७० लाख रुपैयाँको सेयर कारोबार गरे।
नेप्सेमा सूचीकृत भएर सोमबारदेखि कारोबार सुरु गरेको सानिमा मिडिल तमोर हाइड्रोपावर सेयरमूल्य १० प्रतिशत र कालिन्चोक दर्शनको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भयो। वाराही हाइड्रोपावरको सेयरमूल्य ५.८८ प्रतिशतले बढ्यो।
ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ६.५४ प्रतिशतले घट्यो। वाराही हाइड्रोपावरको सेयरमूल्य ५.२५ प्रतिशत र इस्टन हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले घटेको थियो।
चैत २७, २०७९ सोमबार १७:०९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।