नेप्से बढ्यो तर कारोबार रकम घट्यो, जम्मा ८१ करोडको कारोबार
काठमाडौँ : साताको सुरुवातमा लगातार तीन दिन घटेको सेयर बजार पाँचौँ दिन एकल अङ्कले बढ्यो तर कारोबार रकममा सुधार भएन।
बुधबार बजार परिसूचक नेप्से ८.३९ अङ्कले बढ्यो। १८७५.०४ अङ्कमा बन्द भए पनि उत्पादनमूलक, व्यापार र निर्जीवन बिमा भने बढ्न सकेन।
होटेल तथा पर्यटन उपसूचक १.०४ प्रतिशत र बैङ्किङ उपसूचक ०.६५ प्रतिशतले बढेको छ। उत्पादनमूलक उपसूचक ०.१० प्रतिशत, निर्जीवन बिमा उपसूचक ०.५२ प्रतिशत र व्यापार उपसूचक ०.४१ प्रतिशतले घट्यो।
मङ्गलबार ९२ करोडको कारोबार भएको बजारमा बुधबार ८१ करोड ६० लाखमा झर्यो। २१ हजार ५०४ वटा कारोबारमा २६ लाख २ हजार ९५६ कित्ता किनबेच हुँदा उक्त रकमको कारोबार मात्र भयो।
बुधबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ४३ लाख रूपैयाँको कारोबार हुँदा नबिल बैङ्कको २ करोड ३६ लाख र गुराँस लाइफ इन्स्योरेन्सको २ करोड २२ लाख रूपैयाँको सेयर कारोबार भयो।
बुधबार २१७ कम्पनीको सेयर कारोबार हुँदा १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको सेयर मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्यमा स्थिर रहेको छ।
चैत २२, २०७९ बुधबार १५:५५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।