नेम्वाङले मागे जनमत पार्टीसँग भोट, सिकेको जवाफ- ‘तपाईंप्रति सद्भाव छ, छलफलपछि जवाफ दिन्छाैं’

नेम्वाङले मागे जनमत पार्टीसँग भोट, सिकेको जवाफ- ‘तपाईंप्रति सद्भाव छ, छलफलपछि जवाफ दिन्छाैं’

काठमाडौं : राष्ट्रपति पदका उम्मेदवार एमाले उपाध्यक्ष सुवास नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई भेटेर मत मागेका छन्।

शुक्रबार पार्टीका नेताहरूसहित काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा पुगेर नेम्वाङले राष्ट्रपतिका लागि आफू उपयुक्त पात्र भएकाले मत दिन अनुरोध गरेका हुन्।

राष्ट्रपतिमा नेम्वाङ उपयुक्त पात्र भएकाले आफूहरूको पनि सद्भाव र शुभकामना रहेको अध्यक्ष राउतले बताएको भेटमा सहभागी एमाले उप–महासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

गुरुङका अनुसार राउतले जनमत पार्टीलाई मूल धारमा ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेम्वाङको प्रशंशा गरेका थिए।

एमाले उप-महासचिव गुरुङले भने, ‘अध्यक्षज्यूले पार्टीबाट अहिले नै निर्णय नभएको तर हाम्रो उम्मेदवारप्रति उहाँहरूको सद्भाव, शुभकामना छ भन्नुभएको छ। उपयुक्त समयमा उपयुक्त निर्णय लिने पनि उहाँले भन्नुभयो।’

यता, जनमत पार्टीका अध्यक्ष राउतले भने आफूहरूले आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने बताएका छन्।

‘संविधान जारी गर्ने बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको संरक्षण गर्न पनि राष्ट्रपतिको रूपमा राम्रो भूमिका निर्वाह गर्नसक्छु भनेर उहाँले मत माग्नुभयो,’ उनले भने, ‘पार्टीभित्र छलफल गरेर जवाफ दिन्छौं भन्यौं।’

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचनका लागि कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई माओवादी केन्द्रसहितका ८ राजनीतिक दलहरूको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएको छ।

फागुन १९, २०७९ शुक्रबार १८:१९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।