साप्ताहिक शेयर समीक्षा : राजनीतिक अस्थिरता र ‘लघुवित्त’ मा राष्ट्र बैंकले गरेको कडाइको नकारात्मक प्रभाव शेयर बजारमा
काठमाडौं : यो साता जम्मा तीन दिन मात्र शेयर कारोबार हुँदा तीनै दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट देखियो।
२०७०.४१ बिन्दुबाट सुरु भएको नेप्से ४७.७७ अंकले घटेर २०२२.६४ बिन्दुमा आइपुगेको छ। यो साता नेप्से घट्नुसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आयो।
गत शुक्रबार आएको राष्ट्र बैंकको मौद्रिक नीति शेयर बजार अनुकूल नभएको निष्कर्ष निकालिएको थियो। त्यसको प्रभाव शेयर बजारमा अघिल्लो साता नै परेको थियो।
मौद्रिक नीतिको ह्याङ्गओभरबाट विस्तारै उठ्न खोज्दै गरेको नेप्से यो साता मुलुकको राजनीतिक अस्थिरताले सम्हालिन पाएन।
लघुवित्तले ड्रयाग गरेपछि समग्र बजार सूचकमै ठूलो ह्रास आएको हो। लघुवित्तलाई कस्ने राष्ट्र बैंकको नीतिका कारण यस्तो अवस्था आएको शेयर कारोबारीहरु बताउँछन्।
गएको सोमबार शेयर बजार २३.६० अंकले घटेर २०४६.८१ बिन्दुमा पुगेको थियो। सोमबार करिब १ अर्ब ९२ करोडको कारोबार भएको थियो। कतिपयले यसलाई शेयर बजारको करेक्सनका रुपमा लिएका थिए।
गएको बुधबार भने शेयर बजारमा सकारात्मक रौनकता आएको थियो। त्यस दिन नेप्से ३३.५७ अंकले बढेर २०८०.३८ मा पुगेको थियो।
नेप्सेले पार गर्ने २१०० बिन्दुलाई शेयर बजारका विज्ञहरु गौंडोका रुपमा लिन्छन्। त्यो दिन नेप्सेले २१०० को गौंडो काटेर माथि जान सकेन भने कारोबार रकममा पनि वृद्धि देखिएन। दिनभरमा करिब १ अर्ब ७८ करोड बराबरको कारोबार भएको थियो।
बिहीबार भने नेप्सेमा भारी गिरावट आयो। नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा पुग्यो। त्यस दिन करिब २ अर्ब ५२ करोडको कारोबार भएको थियो भने नेप्सेमा सूचीकृत सबै समूहमा गिरावट देखियो।
जसअनुसार लघुवित्त समूह ९.५४ प्रतिशतले घटेको थियो। अधिकांश लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको देखियो।
लघुवित्तले ड्रयाग गरेपछि समग्र बजार सूचकमै ठूलो ह्रास आएको हो। लघुवित्तलाई कस्ने राष्ट्र बैंकको नीतिका कारण यस्तो अवस्था आएको शेयर कारोबारीहरु बताउँछन्।
राजनीतिको प्रभाव शेयर बजारमा
मुलुकको राजनीति अहिले तरल अवस्थामा छ। राष्ट्रपतिको विषयलाई लिएर मुलुकमा तीव्र राजनीतिक ध्रुवीकरण सुरु भएको छ। यही विषयका कारण सरकारको गठबन्धन टुट्ने हो कि भन्ने त्रासले बजारलाई संवेदनशील बनाएको छ।
यदि गठबन्धन टुट्यो भने एमाले सरकारबाट बाहिरिने निश्चित छ। जसका कारण शेयर बजारले रुचाएको भनिएका अर्थमन्त्री विष्णु पौडेल नरहने हुन् कि भन्ने चिन्ताले पनि शेयर बजारलाई माथि उठ्न दिएको छैन।
बुधबार राष्ट्र बैंकले पनि लघुवित्त कम्पनीहरुका लागि निर्देशिका जारी गर्दै लाभांश वितरणमा कडाइ गर्ने नीति लियो। जसका कारण लगानीकर्ताहरु थप प्यानिक बनेको देखियो।
अन्तिम कारोबार दिनमा आएर शेयर बजारमा जुन गिरावट देखियो त्यो विशेष गरेर लघुवित्तका कारण भएको थियो। पछिल्लो केही समययता लघुवित्त कम्पनीहरुका कारण ऋणीहरु समस्यामा परेका घटनाहरु बाहिर आइरहेका छन्।
बुधबार राष्ट्र बैंकले पनि लघुवित्त कम्पनीहरुका लागि निर्देशिका जारी गर्दै लाभांश वितरणमा कडाइ गर्ने नीति लियो। जसका कारण लगानीकर्ताहरु थप प्यानिक बनेको देखियो।
लघुवित्त कम्पनीका बारेमा नकारात्मक टिप्पणीहरु आइरहेका बेला केन्द्रीय बैंकले थप कडाइ गर्ने नीति लिएपछि लगानीकर्ताहरुले धमाधम लघुवित्त कम्पनीहरुको शेयर डम्प गरेका हुन्। बिहीबार बजारमा लघुवित्त कम्पनीका शेयर बेच्नेहरुको भिड देखिन्थ्यो।
राष्ट्र बैंकले लघुवित्तहरुले वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ।
यस्तै, ३५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोषमा र १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। जसका कारण लगानीकर्ताहरु प्यानिक सेलमा गएको देखिन्छ।
अर्थविद्हरु भने राष्ट्र बैंकको यो नीतिलाई लघुवित्तको सुदृढीकरणकै लागि भएको बताउँछन्।
फागुन १२, २०७९ शुक्रबार १६:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।