दुई महिनामै बदलिएको राजनीतिको दुई दृश्य : पुस १० मा कांग्रेस हेर्‍या हेर्‍यै, फागुन ११ मा एमाले

दुई महिनामै बदलिएको राजनीतिको दुई दृश्य : पुस १० मा कांग्रेस हेर्‍या हेर्‍यै, फागुन ११ मा एमाले

काठमाडौँ : पुस १० गते बालकोटमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका दलका नेताहरू सरकार गठनबारे छलफलमा व्यस्त हुँदा नेपाली कांग्रेसका नेताहरू भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेर बैठक नियालिरहेका थिए।

पहिलो चरणमा प्रधानमन्त्री नदिने कांग्रेस सभापति शेरबहादुर देउवाको अडानपछि प्रचण्ड बालकोट पुगे। प्रचण्ड बालकोट आएपछि ओलीले एक-एक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी अनि नागरिक उन्मुक्ति पार्टीका नेताहरुलाई बोलाए।

त्यही प्रचण्डको नेतृत्वमा सरकार गठनको निर्णय गर्दै उनीहरू सिधै राष्ट्रपति निवास पुगेर दाबी पेस गरे। राष्ट्रपतिले पनि त्यही दिन प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिन्।

फागुन ११ गते प्रचण्ड बैठकमा व्यस्त छन्। सिंहदरबारमा बसेर उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरे। नेपाल समाजवादी पार्टीसँग छलफल गरे। अनि बेलुका पाँच बजे काङ्ग्रेससहित चारै दलका नेताहरू छलफलमा बस्दैछन्।

एमालेका नेताहरू बैठकका प्रतिक्रियाहरू हेरेर बसिरहेका छन्। पुस १० मा कांग्रेसका नेताहरू सरकार बनाउने वचनसहित गठबन्धन बनाएर निर्वाचनमा गएकाले नयाँ गठबन्धन बन्न नहुने बताइरहेका थिए। आज फागुन ११ मा एमालेका अध्यक्ष केपी शर्मा ओली पुस १० गते नै राष्ट्रपति एमालेको हुने सहमति भएकाले माओवादीले कांग्रेसलाई समर्थन गर्न नमिल्ने अभिव्यक्ति दिइरहेका छन्।

बिहीबार एक कार्यक्रममा उनले भने ‘उहाँले (प्रचण्ड) ले सपोर्ट गर्दै गर्नुहुन्न। गर्नै मिल्दैन। हामीसँग पुस १० मै सम्झौता गर्नुभएको छ।’

दुई महिनामै बदलियो दृश्य

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको सात दल गठबन्धन बनाएर निर्वाचनमा गए पनि सात दलको पक्षमा सरकार बनाउन आवश्यक सङ्ख्या पुगेन। तर सरकार बनाउन गाह्रो थिएन।

सरकारको नेतृत्वमा कांग्रेस, माओवादी केन्द्र अनि एकीकृत समाजवादीले दाबी गरेको थियो। कांग्रेस र माओवादीले २-२ वर्ष सरकार चलाउने अनि एक वर्ष एकीकृत समाजवादीबाट प्रधानमन्त्री हुने सहमति भए पनि पहिला कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने सहमति हुन सकेन।

माओवादी अध्यक्ष प्रचण्ड पहिलो चरणमा आफू प्रधानमन्त्री हुने पक्षमा उभिए। उता कांग्रेस सभापति शेरबहादुर देउवाले पहिला आफूले नेतृत्व गर्ने पक्षमा उभिए। पुस १० गते दिउस १२ बजेसम्म पनि प्रचण्ड र देउवाबिच सहमति हुन नसकेपछि प्रचण्ड उठेर हिँडे। गठबन्धन भत्कियो।

प्रधानमन्त्री आफू भए पनि राजनीतिक संयन्त्रको संयोजक बनेर अन्य दलसहित घेराबन्दीमा परेको भन्दै प्रचण्ड असन्तुष्ट बन्दै गए। गठबन्धन त भयो तर दुबै नेता शंकैशंकामा रहे। नयाँ गठबन्धन बने पनि दुई महिनामै दृश्य बदलियो।

सभामुख लगायतका निर्वाचनमा ओली नै हाबी भए। प्रदेश बाँडफाँड र नेतृत्व चयनमा समेत प्रचण्डले हेपिएको महसुस गरे। राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा ओली निकट बनेपछि प्रचण्डले राष्ट्रपति निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार खतरामा रहेको महसुस गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति भन्न थाले। 

प्रचण्डको नेतृत्वको सरकारलाई विश्वासको मत दिएर कांग्रेसले संवादको बाटो खुला गरिसकेको थियो। प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति भनेर  काङ्ग्रेससँग निकट हुने बाटो खुल्ला गरे। प्रचण्ड र देउवाबिचको संवादहीनता टुट्यो जुन पुरानै गठबन्धन ब्युँताउने चरणसम्म पुगिसकेको देखिन्छ।

फागुन ११, २०७९ बिहीबार १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।