कांग्रेससहितको गठबन्धन ब्युँताउन पाँच बजे चार दलको बैठक

कांग्रेससहितको गठबन्धन ब्युँताउन पाँच बजे चार दलको बैठक

काठमाडौँ : पुरानो पाँच दलीय गठबन्धन ब्युँताउन चार दलबिच पाँच बजे बैठक बस्ने भएको छ। राष्ट्रपतिको उम्मेदवार टुङ्ग्याउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूको बैठक बस्न लागेको हो।

बैठकमा यस अगाडि गठबन्धनमा रहेको जनमोर्चालाई भने बोलाइएको छैन। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपति उम्मेदवारबारे टुङ्गो लगाउन पाँच बजे बैठक बस्न लागेको तर कांग्रेससहितको पुरानो गठबन्धनलाई ब्युँताउने विषय भने टुङ्गोमा पुगिनसकेको बताए।

पुरानो गठबन्धन ब्युँताउनेबारे बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सिंहदरबारमा छलफल भएको थियो। छलफलमा श्रेष्ठ समेत सहभागी थिए।

सबै राष्ट्रिय राजनीतिक पार्टीहरूसँग छलफल जारी रहेकाले अहिले नै पार्टी निष्कर्षमा नपुगेको उनको दाबी छ। उनले पत्रकारमाझ सबै राजनीतिक दलहरूसँग छलफल गरेर मात्रै राष्ट्रपति निर्वाचनबारे निष्कर्षमा पुग्ने बताएका थिए।

 ‘माओवादी केन्द्र र एकीकृत समाजवादीको बिचमा अहिलेको राष्ट्रिय राजनीतिक परिस्थिति र मुख्यतः राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा छलफल भयो। अहिलेको छलफल अझै निष्कर्षमा पुगिसकेको छैन,' उनले भने' हामी आजै पाँच बजे अर्को बैठक बस्दैछौं।'

फागुन ११, २०७९ बिहीबार १६:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।