रविप्रति प्रदीप पौडेलको टिप्पणी– वैकल्पिक भनिएका साथीहरूले संयमता गुमाए, समर्थकमाझ निराशा छायो

रविप्रति प्रदीप पौडेलको टिप्पणी– वैकल्पिक भनिएका साथीहरूले संयमता गुमाए, समर्थकमाझ निराशा छायो

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले वैकल्पिक राजनीतिको पैरवी गर्ने राजनीतिक दल र नेताले संयमता गुमाएको बताएका छन्।

बुधबार काठमाडौंमा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेको नाम नलिइ सांसद् पौडेलले नयाँ भनिएका दलका नेताले संयमता गुमाउँदा त्यसले समर्थकमाझ निराशा छाएको बताए।

‘वैकल्पिक शक्तिको पैरवी गर्ने साथीहरूले संयमता गुमाए,’ उनले भने, ‘त्यसले समर्थकमाझ निराशा उत्पन्न भयो।’

नयाँ भनिएका राजनीतिक दलहरूमा समेत सत्ता स्वार्थ देखाएको भन्दै उनले यस्तो अवस्था नेपाली कांग्रेसका लागि अवसर हुनेसमेत बताए।

फरक प्रसङ्गमा उनले केपी शर्मा ओली प्रवृत्तिका कारण अहिलेको संसद्को कार्यकाल पूरा नहुने हो कि भन्ने आशंका पैदा भएको बताए।

‘दुई तिहाइको समर्थन प्राप्त गरेको ठूलो सरकार केपी ओलीको अहंकार ढल्यो। हामीले ढालेको होइन,’ उनले भने, ‘ओली प्रवृत्तिका कारण अहिलेको संसद्को कार्यकाल पनि पूरा समय नटिक्ने आशंका पैदा भएको छ।’

ओली प्रधानमन्त्री हुँदाजस्ताे भ्रष्टाचार कुनै पनि सरकारको कार्यकालमा नभएको आरोप लगाए।

‘ओलीको सम्बोधनले संसदमा अहंकार देखिएको। उहाँको समयमा जति भ्रष्टाचार कहिल्यै मौलाएन। कोभिड खोप, मास्क, विदेशमा अलपत्र भएका नेपालीलाई फर्काउने हवाइ टिकटमा कति भष्ट्राचार भयो। ती कुराहरूमा छानविन गरिएन।

ओलीको अहंकारले दुई तिहाइको सत्ता भत्किएको भन्दै उनले संसद्मा चुनावी सभा झैँ गालीगलौज गरेर संसद्को गरिमामाथि नै आँच पुर्याउने बताए।

‘संसद्मा एकले अर्कोलाई गाली गर्ने, कुनै मर्यादा कायम नगर्ने, तर्क र तथ्यमा आधारित नभएर दम्भ प्रस्तुत गर्ने अवस्था देखिएको छ,’ उनले भने, ‘यसले लोकतन्त्रमाथि खतरा पैदा भएको छ।’

माघ २५, २०७९ बुधबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।