नेप्सेमा दोहोरो अंकको सुधार : तीन लघुवित्तमा सर्किट, टेलिकममा झुम्मिए लगानीकर्ता
काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकमा सुधार आएको छ।
नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३ पुग्दा ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक २.६८ अंकले बढेर ३६६ विन्दुमा छ।
बजार बढे पनि कारोबार रकमा १ अर्ब पनि पुग्न सकेन। २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८ लाखको कारोबार भयो।
उपसूचक समूहतर्फ पनि आज सबैमा बढोत्तरी आएको छ। सबैभन्दा धेरै होटल तथा पर्यटनमा २.४ प्रतिशले बढ्दा त्यसपछि अन्य समूह पनि २.३ प्रतिशतले बढेको छ। सबैभन्दा कम भने म्युचल फन्ड समूह ०.०३ प्रतिशतले बढ्यो।
यसदिन नेपाल टेलिकम र सिभिल बैंक लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन्। टेलिकमको मात्रै आज ६ करोड ३८ लाखको कारोबार हुँदा सिभिल बैंकको ४ करोड ३ लाखको कारोबार भएको छ।
यसैगरी आज तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ। आधिखोला लघुवित्त, सिर्जनशील लघुवित्त र धौलागिरि लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाए।
पुष ५, २०७९ मंगलबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।