पैसा फिर्ता लिन बचतकर्ताको लाइन बढेपछि नौ सहकारी मर्जरमा, बचतकर्ताले विश्वास गर्नेमा शङ्का
बुटवल : अनधिकृत रूपमा गरेको लगानी नउठेसँगै आर्थिक सङ्कट टार्न सहकारीहरू मर्जरमा जान थालेका छन्। सहकारीका बदमासी सार्वजनिक भएसँगै बचतकर्ताहरू आफ्नो बचत फिर्ता लिन कार्यालयमा लाइन लाग्न थालेपछि सहकारीहरू मर्जरमा जान थालेका हुन्।
शनिवार मात्रै रुपन्देही, नवलपरासी र कपिलवस्तुका सार्थक, आगन्तुक, साइन, उपदेश, उपकार, जनप्रिय, सुशन्देश शुभश्री र वरदान बहुउद्देश्यीय सहकारी संस्था मर्जर गरियो। सहकारीका पदाधिकारीहरू र शेयर सदस्य उपस्थित बैठकले मर्जरको निर्णय गरेको थियो।
तर्दथ समितिका अध्यक्ष प्रकाश खनालका अनुसार मर्जर पश्चात् कुल निक्षेप सङ्कलन ३३ करोड ४४ लाख ७२ हजार २ सय ८७ हुनेछ। कर्जा प्रवाह २९ करोड ६२ लाख ८५ हजार ९ सय ८२ हुनेछ।
एकीकरण पश्चात् हुने तरलता १२.६९ प्रतिशत हुने जानकारी दिइयो। अचल सम्पत्ति २ करोड ८१ लाख ६७ हजार १ सय ४७ र शेयर पुँजी ३ करोड ७१ लाख ४२ हजार ३ सय ३ रुपैयाँ हुनेछ। ती सहकारी एकिकरणपश्चात शेयर सदस्यहरूको सङ्ख्या २२ हजार ४ सय १३ जना रहने छन्।
अभियन्ताहरूको आशङ्का
सहकारीहरूले एकीकृत भएर आर्थिक समस्याको समाधान गर्ने प्रयासको सुरुवात गरे पनि सहकारीका अभियन्ताहरूले भने यसमा आशङ्का गरेका छन्।
विगतमा सहकारीहरूले आफ्नो मूल्य मान्यता विपरीत कारोबार गर्नु, अस्वस्थ प्रतिस्पर्धा तथा अप्रत्यक्ष रूपमा गरिएका लगानीले सहकारी डुब्ने अवस्था सिर्जना भएको उनीहरूको निष्कर्ष छ।
राष्ट्रिय सहकारी महासङ्घका केन्द्रीय सदस्य तथा रुपन्देही सहकारी सङ्घका अध्यक्ष भीम तुलाचनले सहकारीहरूले अधिकार क्षेत्रभन्दा बाहिर लगानी गर्नुका साथै राज्यको सहकारी नीति ठिक नहुँदा समस्या सिर्जना भएको टिप्पणी गरे। सहकारीहरूले आर्थिक अनुशासनलाई कायम राखेर सदस्यहरूको अधिकारलाई सुरक्षित गर्नुपर्ने उनको सुझाव छ।
सङ्कट टार्न सहकारीहरू एकीकरणको अभियानमा गए पनि यसले सकारात्मक सन्देश दिनेमा भने उनले शङ्का गरे। सहकारी सदस्यहरूलाई विश्वस्त पार्ने सन्देश दिन जरुरी रहेको बताउँदै उनले आर्थिक समस्याबाट बच्न सहकारीहरू एकीकरणमा जाँदा थप प्रति उत्पादक बन्न सक्नेमा सचेत गराए।
राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीले सहकारीहरूमा आर्थिक सङ्कट कोभिड महामारीभन्दा पनि ठुलो रूपमा जन्मिएको बताए। वित्तीय अनुशासनको पालना नगर्दा समस्या उत्पन्न भएको बताउँदै उनले ती समस्या समाधानतर्फ ध्यान केन्द्रित दिन आग्रह गरे।
राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक माधवलाल देवकोटाले बढी बचतमा बढी ब्याज प्राप्त गर्ने प्रलोभनमा सहकारीहरूले आर्थिक सङ्कट व्यहोर्नु परेको उल्लेख गरे।
अस्वस्थ प्रतिस्पर्धाका लागि बचतमा उच्च ब्याजदर तथा नाफा कमाउने लोभमा अपारदर्शी क्षेत्रमा लगानी गर्दा सङ्कटको अवस्था आएको उनले बताए।
‘सहकारीहरूले बचत र तरलताको अनुपात मिलाउन नसक्दा समस्या भएको छ’देवकोटाले भने‘सहकारीको नियम पालना र सदस्यहरू केन्द्रित भएर काम गर्दा समस्या आउँदैन’आफूलाई सहकारी अभियन्ता भन्न लाज लाग्ने अवस्थाको सिर्जना भएको गुनासो गर्दै उनले वित्तीय अनुशासनलाई ध्यान दिन आग्रह गरे।
सहकारी सङ्घ केन्द्रीय सञ्चालक समितिका केन्द्रीय सदस्य सन्दीप सापकोटाले सहकारीका आधारभूत मूल्य र मान्यतालाई मानेर अघि बढ्नु पर्नेमा जोड दिए।
आगन्तुक सहकारी संस्थाका अध्यक्ष राजु घर्तीले कम्युनिटीमा आधारित भन्दा पनि सहर केन्द्रित सहकारीहरूमा बढी समस्या देखिएको स्वीकार गरे। काठमाडौँका केही सहकारीहरूमा देखिएको समस्यासँगै बुटवलको सुप्रिम सहकारीमा देखिएको समस्यापछि अन्य सहकारीहरूमा समेत सङ्कट उत्पन्न भएको उनले बताए।
सुप्रिम सहकारीले बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेकोबारे उकेराले समाचार प्रकाशित गरेको थियो। त्यसका संस्थापक अध्यक्ष जीवी राई र सचिव उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुन हुन्।
आफ्नो सहकारीबाट समेत बचतकर्ताहरूले लगानी फिर्ता तथा अन्य बैङ्कमा स्थानान्तरण गर्न थालेपछि सहकारीको मोबाइल बैङ्किङ सेवा नै बन्द गर्नु परेको उदाहरण प्रस्तुत गर्दै यहाँ सबै सहकारीहरूमा आर्थिक सङ्कट बिस्तारै फैलिएको उनले स्वीकार गरे।
सम्बन्धीत समाचार
मंसिर १८, २०७९ आइतबार १४:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।