टिकट पक्का गर्न दल बदल्ने प्रतिस्पर्धा, लोसपामा पहिरो, एमालेका नेता जसपामा

टिकट पक्का गर्न दल बदल्ने प्रतिस्पर्धा, लोसपामा पहिरो, एमालेका नेता जसपामा

काठमाडौँ : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै टिकट पक्का नभएका प्रमुख दलका नेताहरूबिच पार्टी बदल्ने प्रतिस्पर्धा सुरु भएको छ। हारजित अनि टिकटको आङ्कलन गर्दै पाँच दलीय गठबन्धनमा आउने नेताहरूको सङ्ख्या बढेको हो।

मुख्यत मधेस प्रदेशका निर्वाचन क्षेत्रमा उम्मेदवार हुन चाहनेहरू दल बदल्न बढी नै सक्रिय देखिएका छन्। अधिकांश लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू नयाँ दलमा प्रवेश गरिरहेका छन्। एमालेले मधेस प्रदेशमा पार्टी प्रवेशका लागि अभियानै चलाइरहेको छ भने निर्वाचन क्षेत्र हेरेर गठबन्धनका नेताहरूले पनि अन्य दलका नेताहरू भित्र्याइरहेको छ।

सर्लाही-४ मा अमरेश कुमार सिंहले टिकट नपाउने पक्का भएपछि लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश गरिन्। बुधवार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सरकारी निवास बालुवाटारमा पार्टी सदस्यता दिएका थिए।

सिंह कारबाहीमा परेपछि सर्लाही–४ मा कांग्रेसले बलियो नेता खोजिरहेको थियो। चौधरी सांसद र पूर्व मन्त्री समेत हुन्। उनी लोसपामा कार्यकारिणी सदस्य थिइन्।

संविधानसभा सदस्य रहेका नरेन्द्र साह बिहीबार माओवादी केन्द्र प्रवेश गरे। सर्लाहीको बरहथवा नगरपालिका लौकटवासी उनी माओवादीबाट टिकट पाउने निश्चित भएपछि उनी पार्टी प्रवेश गरे। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा स्वागत गरेका थिए।

साहले २०७४ सालको प्रतिनिधिसभा चुनावमा सर्लाही–३ बाट स्वतन्त्र उम्मेदवारी दिएर १२ हजार ८६ मत प्राप्त गरेका थिए। उनी विजय गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टी छाडेर बसेका थिए। उनलाई माओवादीले सर्लाही–३ बाट उम्मेदवार बनाउने तयारी गरेको छ।

उनी २०७० मा महेन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई मधेस सद्भावना पार्टीबाट समानुपातिक सांसद बनेका थिए।

एमाले छाडेका गङ्गाराम यादवलाई जनता समाजवादी पार्टी (जसपा) ले स्वागत गरेको छ। उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले फूलमाला लगाएर पार्टी प्रवेश गराएका थिए।

उनी जसपाबाट धनुषा–२ बाट उम्मेदवार बन्ने गरी जसपा प्रवेश गरेको आङ्कलन गरिएको छ। धनुषा-२ बाट उम्मेदवार बन्ने गरी लोसपाका प्रमुख सचेतक उमाशङ्कर अरगरिया एमालेमा आएपछि उनी नयाँ दलको खोजीमा थिए। तीन दिन अगाडि मात्रै उनले एमाले छाडेका थिए। उनी २०३६ सालदेखि नै एमालेबाट राजनीतिमा सक्रिय थिए।

असोज १३, २०७९ बिहीबार १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।