फिल्म प्रकाश: निर्देशकीय कमजोरीबीच प्रदीप खड्काको सरप्राइज
'प्रकाश', 'राधा' र 'पानीफोटो'। यी तीन वटै फिल्मको कथा कुनै पात्र हराएपछि सुरु भएको छ। पानीफोटोमा छोरा हराउँछ। राधामा श्रीमान् अनि प्रकाशमा बाबु।
संयोग नै होला तीन वटै फिल्मको खिचाइ पनि उस्तै छ। अनि कथ्य शैली पनि उस्तै।
प्रकाश र राधा त अझ एकैदिन रिलिज भए। एक शुभचिन्तकले सुझाव दिएका थिए- 'राधा' र 'प्रकाश' एकै दिन हेर्ने हो भने कुन फिल्मको कथा के हो भनेर छुट्याउनै मुस्किल पर्ने रहेछ।
उनको सुझाव सही लाग्यो। दर्शकलाई पनि दुवै फिल्म हेर्नु तर एकै दिन नहेर्नू भनेरै सुझाव दिएँ है।
अब लागौं फिल्म 'प्रकाश'तिर।
जुम्लामा खिचिएको फिल्म हो प्रकाश। तर यो फिल्ममा जुम्लाको भूगोलले कुनै अर्थ राख्दैन। निम्न बर्गका युवाले देखेको सपना अनि त्यही सपना पूरा गर्न गरेको संर्घष हो कथा। यति कथा नेपालको जुनसुकै भूभागलाई देखाएर पनि भन्न सकिन्छ। जुम्ला किन रोजे निर्देशकले त्यो उनै जानुन्।
भिन्न भूगोलमा खिच्दैमा, स्थानीय भाषाको प्रयोगको प्रयास गर्दैमा मात्र भूगोल विशेषको प्रतिनिधित्व हुन सक्दैन। जुम्ला पुगेर 'प्रकाश'को कथा भन्नु र धादिङकै उत्तरी क्षेत्रका युवाले भोगेको समस्या एकै देखिए जुम्लामा खिचेको फिल्म भनेर गर्व गर्नुको अर्थ रहन्न।
सायद ट्रेण्डलाई पो पछ्याएका हुन् कि। अचेल फिल्मको कथा भन्न बझाङ बाजुरादेखि जुम्ला, हुम्लासम्म पुग्ने लहरै चलेको छ।
नेपाल भनेको काठमाडौं मात्रै होइन,काठमाडौं बाहिर पनि नेपाल छ भनेर चिनाउने प्रयासलाई सकारात्मक नै मान्नुपर्छ।
यहाँ रंगकर्मी राज शाहको फेसबुक पोस्ट उल्लेख गर्नु सान्दर्भिक हुने लाग्यो। उनले लेखेका छन्:
कर्णालीको कथा भन्न स्टारलाई काठमाडौंमा खालीखुट्टा हिँडाएर मात्र हुँदैन। बरू लेखक र निर्देशकले जुत्तै लगाएर कर्णाली घुमेको भए हुन्थ्यो, बुझेको भए हुन्थ्यो। काठमाडौंमा बसेर हाम्रो सुकिला आँखाले देख्ने कर्णालीको अभाव र दु:ख मात्र हो, कर्णालीको सौन्दर्य, सभ्यता र संस्कृति कहिल्यै देखेन, महसुस गरेन। र, काठमाडौंले सोच्ने कर्णालीको पात्र गरिब, दरिद्र र विचारहीन मात्र हो? गोरो अनुहारमा कालो पोत्दैमा र कनीकनी लवज घोक्दैमा पात्रप्रति न्याय हुँदैन। यस्ता घिसिपिटी कथा र स्टिरियोटाइप सोचबाट माथि उठौँ।'
हो, भिन्न भूगोलमा खिच्दैमा, स्थानीय भाषाको प्रयोगको प्रयास गर्दैमा मात्र भूगोल विशेषको प्रतिनिधित्व हुन सक्दैन। जुम्ला पुगेर 'प्रकाश'को कथा भन्नु र धादिङकै उत्तरी क्षेत्रका युवाले भोगेको समस्या एकै देखिए जुम्लामा खिचेको फिल्म भनेर गर्व गर्नुको अर्थ रहन्न।
अब फिल्मको कथावस्तुमा प्रवेश गरौँ।
सरकारी शिक्षक बन्ने सपना बुनेको पात्र हो, प्रकाश (प्रदीप खड्का)। ऊ पढाइमा अब्बल छ। अभावको बीचमा पनि ऊ पढ्न रुचि राख्छ। गोठालो जाँदा समेत किताब च्यापेर हिँड्छ।
उसलाई पढाइ र आफ्नो क्षमतामा पूर्ण विश्वास छ। यही क्षमतामा भएको विश्वास र त्यसलाई राजनीतिले पारेको प्रभाव। त्यो प्रभावका कारण प्रकाशमा आएको उतारचढाव र यसले निम्त्याएको संघर्ष। फिल्मको कथा यही हो।
फिल्म सुरु हुन्छ, शिक्षकको लाइसेन्सको नतिजा निस्केको दिनबाट। नतिजा हेर्न ऊ यति धेरै उत्सुक छ कि, अगाडिको शव यात्रालाई समेत उछिन्छ। मानिसहरू शोकमा हुँदा उसको उत्साह लुक्न सकेको छैन पर्दामा।
यही दृश्य फिल्मको अन्त्यमा दोहोरिन्छ, जसमा प्रकाश आफैँ शव यात्राको पात्र बन्न पुग्छन्।
उत्साह बोकेको अर्को समूहसँग प्रकाशको जम्काभेट र त्यसबाट उत्पन्न घटनाले दर्शकको मनोभाव उथलपुथल हुन्छ। तर केही अनावश्यक दृश्यले यो सिनलाई खल्लो बनाउँछ।
एक दृश्यमा आमा-छोरा खाटमा सुतिरहेका हुन्छन्। पछाडि टुकी बलिरहेको हुन्छ। टुकीमा देखाइएको पात्रको मनोभाव र लगत्तै त्यो बत्ती निभ्नुले अगाडिको कथा के हुन्छ भन्ने संकेत गर्छ।
फिल्ममा पात्रहरूको अभिनय प्राकृतिक छ। फिल्मलाई हल्लाखल्ला गर्न मद्दत गरेका पात्रबाटै विश्लेषण सुरु गरौं।
यो फिल्म प्रदीप खड्का अर्थात प्रकाशको कथा हो। अभिनय क्षमता कमजोर मानिँदै आएको हो उनको। तर यो चलचित्रमा मेहनत राम्रो देखियो।
प्रदीपले निभाएको भूमिका, उनले दिएको अनुहारको भावभंगीदेखि हिँडाइसम्मले उनलाई 'प्रकाश' बनाएको छ।
आसै नगरेको पात्रले यस्तो अभिनय कला देखाउनु दर्शकका लागि सरप्राइज नै हो। प्रदीपका फ्यानका लागि त बम्पर सरप्राइज।
दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, राजन खतिवडा लगायतका कलाकारको अभिनय त पहिलेदेखि नै अब्बल हो। फिल्ममा डेब्यु कलाबार रेनु योगी (राधा) को अभिनय पनि सुन्दर छ।
तर फिल्ममा उनलाई निकै कम स्पेस दिइएको छ।
फिल्ममा लाइटिङमा राम्रो काम भएको छ। उज्यालोबाट सुरु भएको कथामा लाइट विस्तारै अध्यारो हुँदै जान्छ। एक दृश्यमा आमा-छोरा खाटमा सुतिरहेका हुन्छन्। पछाडि टुकी बलिरहेको हुन्छ। टुकीमा देखाइएको पात्रको मनोभाव र लगत्तै त्यो बत्ती निभ्नुले अगाडिको कथा के हुन्छ भन्ने संकेत गर्छ।
ब्याकग्राउण्ड म्युजिक सशक्त छ। संवाद कम तर चोटिला छन्। धेरै कुरा दृश्यबाटै भन्ने सकारात्मक प्रयास गरेका छन् निर्देशकले।
फिल्ममा आकर्षणको केन्द्र, पात्रले लगाउने भेषभुषा पनि हो। प्रकाशले कोठे धर्के सर्ट मात्रै लगाउँछ फिल्मभरि। सीता (प्रकाशकी आमा)ले लगाउने कपडाले जुम्लाको भेषभुषा बोकेको छ। उनी कपडाकै कारण पूर्णरूपमा जुम्लाकी महिला देखिएकी छिन्।
वियोगमा पात्र रोएको इमोशनले दर्शकलाई तान्न सकेको अनुभव भएन। उल्टै इरिटेट गराउँछ। जतिखेरै रोएरै बस्छ भन्ने भाव सिर्जना गराउँछ त्यो दृश्यले।
अब प्रवेश गरौं कमजोरीमा।
प्रकाश र राधा (रेनु योगी, प्रकाशकी प्रेमिका) भेटेको एक दृश्य छ। त्यो सट यति लामो छ कि, दर्शक एक निद्रा पुर्याएर उठ्न भ्याउँछन्। तर पनि दृश्य सकिँदैन।
क्लोज सट लिएको भए कलाकारको फेसियल एक्सप्रेसन देखिनसक्थ्यो। तर सट वाइड छ। जसले प्रकाश र राधाको प्रेमभाव क्यामराले देखाउन सकेको छैन।
उनीहरूको प्रेम कत्तिको बलियो थियो भन्ने दर्शकले डायलगबाट मात्रै महसुस गर्न सक्दैनन्।
अर्को छ आदर्शवादी दृश्य। प्रकाशले व्रतवन्धका लागि भोज पकाइरहेको हुन्छ। राधालाई देख्ने बित्तिकै दगुरेर नजिक जान्छ। दुईको बीचमा पर्खाल हुन्छ। यो दृश्य निकै सशक्त थियो। क्यामेरा आफैँले कथा भनेको थियो। केही बोल्नै पर्दैनथ्यो।
तर निर्देशकले यस्तो भारी र आदर्शवादी संवाद बोलाए कि जुम्लाको स्कुले नानीले त्यस्तो आदर्शको कुरा कसरी गरिन् भनेर दर्शक अलमलिन्छन्।
एक दृष्य छ, वियोगान्त। तर वियोगमा पात्र रोएको इमोशनले दर्शकलाई तान्न सकेको अनुभव भएन। उल्टै इरिटेट गराउँछ। जतिखेरै रोएरै बस्छ भन्ने भाव सिर्जना गराउँछ त्यो दृश्यले।
फिल्मले दर्शकलाई रुवाउने प्रयास गरेको त छ तर आँखामा आँसु आउन मन चस्स हुनुपर्छ। यसमा निर्देशक चुकेका छन्।
फिल्मका विषयवस्तु धेरै ठाउँमा अलमलिएको छ। एक युवाको शिक्षक बन्ने सपना देखाउन खोजेको भए पनि त्यहाँ बाबु बेपत्ता हुँदाको कथा छ। पितृसत्तात्मक दृष्टिकोणमा घरको मुली नहुँदा त्यो परिवारले पाएको दुःखको प्लट जोडिएको छ।
यसले गर्दा त्यत्तिको पढेलेखेको छोरो बनाउन आमाले गरेको संघर्ष छायाँमा पर्छ।
कमजोरीको सूची लामै भए पनि मौलिक नेपाली फिल्मलाई प्रोत्साहन गर्ने हो भने 'प्रकाश'लाई साथ दिँदा चुक्चुकाउनु पर्दैन।
अर्काको जुठो भाँडा माझेर पढाएको भन्ने संवादमा मात्र देखिन्छ। दृश्यले अनुभव गराउन सकेको छैन।
शिक्षण क्षेत्रमा राजनीति छ। करारमा हुने शिक्षकको लडाइँदेखि पार्टीमा जोडेर दैनिक हुने गरेका शैक्षिक हड्लातहरू छन्। तर ती कुरालाई बेवास्ता गरिएको छ। हलीको छोरालाई शिक्षक बन्न नदिन एक पार्टीको नेता मात्रै लागिपरेका छन्।
पात्र आफैँ पनि अलमलमा परेको देखिन्छ। त्यत्तिको सचेत पात्र जो आफ्नो क्षमतामा विश्वास गर्छ। तर उसले समेत सजिलै आत्मसमर्पण गरेको देखाइन्छ। जसले दर्शकलाई कनेक्ट गराउन सकेको छैन।
तर फिल्मलाई फरक स्वादमा पस्कने प्रयास भने भएको छ। यसमा सबैभन्दा मिहिनेत प्रदीप खड्काले गरेका छन्। उनले आफ्नो अभिनयको अलग पाटो देखाउन सक्दो प्रयास गरेका छन्।
फिल्मको समस्या चाहिँ- फरक भूगोलमा फिल्म खिच्नु मात्र महत्त्वपूर्ण होइन भन्ने कुरा बुझ्न निर्देशक चुक्नु हो। कमजोरीको सूची लामै भए पनि मौलिक नेपाली फिल्मलाई प्रोत्साहन गर्ने हो भने 'प्रकाश'लाई साथ दिँदा चुक्चुकाउनु पर्दैन।
भदौ ११, २०७९ शनिबार १३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।