ओलीलाई गाली गर्नमै रमाउँदै सत्ता गठबन्धन, कार्यकर्ता कुरिरहेछन् भागबन्डाको लिस्ट

ओलीलाई गाली गर्नमै रमाउँदै सत्ता गठबन्धन, कार्यकर्ता कुरिरहेछन् भागबन्डाको लिस्ट

काठमाडौँ : स्थानीय तहको निर्वाचनसम्ममा मात्रै पाँच दलीय गठबन्धन हो या आगामी तीनै तहको भन्नेमा गठबन्धनका नेता कार्यकर्तामाझ अन्योल बढेपछि सोमबार पाँच दलीय गठबन्धनले संयुक्त अपिल जारी गरे। अपिलमा आगामी निर्वाचनमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न सबै नेता-कार्यकर्तालाई अपिल गरियो। अपिल जारी गर्नु अगाडि बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए।

बैठकमा गठबन्धन हुनेमा अझैँ अविश्वास रहेको भन्दै संयुक्त अपिल जारी गर्ने सल्लाहपछि सबै मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्न भन्दै पाँचै नेताले हस्ताक्षर गरेर अपिल जारी गरे।

गठबन्धनले  चैत १७ को बैठकले आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको थियो। तर त्यसले पार्टीको तल्लोतमसम्म उत्साहभन्दा शङ्का मात्र बढायो। सोमबार उनीहरूले शङ्का चिर्न अपिल त जारी गरे तर यसले गठबन्धनको पक्षमा देखिएको अन्योल चिर्न सकेन।

कारण संयुक्त अपिलमा गठबन्धन गर्ने भन्ने मात्र आयो। न अजेण्डा देखियो न गठबन्धनको मोडालिटीमै गठबन्धनका नेताहरू प्रस्ट नै हुन सके।

प्रमुख प्रतिपक्षी दल एमालेले अधिकांश स्थानीय तहका सम्भावित उम्मेदवारहरूको सूची तयार पारिसक्दा गठबन्धनका नेताहरू भने कुन स्थानीय तहमा कसले नेतृत्व गर्ने भन्नेमै अलमलमा देखिन्छन्। यो अलमल सोमबारको अपिलमा पनि देखियो। सत्ता गठबन्धनका नेताहरू आफ्ना अजेण्डा र गठबन्धन गर्नुको कारण खुलाउनुभन्दा एमाले अध्यक्ष केपी ओलीलाई गठबन्धनको बाध्यताको रूपमा प्रस्तुत गरिरहेका छन्।

सोमबार जारी गरेको अपिलमा पनि त्यही देखियो। उनीहरूले अपिलमा ओलीले अहिले पनि समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढिरहेको तर परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरू यो परिवर्तनको  विरुद्ध अझैँ पनि षड्यन्त्र गरिरहेको' उल्लेख गरेका छन्।

संसद् विघटन, अदालतमाथिको हस्तक्षेप र संवैधानिक अङ्गहरूमा पैदा गरिएको बेतिथिलाई अपिलमा उल्लेख गरिएको छ। उनीहरूले यी सबै गतिविधि अहिलेको लोकतान्त्रिक परिवर्तन उल्टाउने प्रयासको रूपमा अपिलमा अर्थ्याएका छन्।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मोडालिटी तय गर्न मङ्गलवार पाँचै दलका प्रमुख नेताहरूको बैठक बस्ने तय भइसकेको छ। त्यही बैठकले नै कुन तहमा कुन आधारमा गठबन्धन गर्ने भन्ने निर्णय गर्ने उनले जानकारी दिए।

कांग्रेस उत्साहित, अन्यले गरे हेपिएको महसुस

एमाले विभाजित भएपछि गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने हो भने स्थानीय तहदेखि तीनै तहको निर्वाचनमा बहुमत आउने भन्दै कांग्रेसका नेता कार्यकर्ताहरू उत्साहित देखिन्छन्। उनीहरूको मत हेर्दा गठबन्धन गर्नु भनेको कांग्रेसको सिट अन्य दललाई बाँड्नु हो भन्ने मनस्थिति प्रस्टै हुन्छ।

कांग्रेसका नेता तथा कार्यकर्ताको यही मनस्थितिबारे जानकार गठबन्धनका माओवादी केन्द्र अनि एकीकृत समाजवादीका कार्यकर्ताहरूले अहिले हेपिएको अनुभव गरिरहेका छन्। उनीहरूले पार्टीको आन्तरिक बैठकहरूमा कांग्रेसबाट हेपिएर चुनावी प्रतिस्पर्धामा जानुभन्दा एक्लै चुनावी प्रतिस्पर्धा गर्न नेतृत्वलाई दबाब दिइरहेका छन्।

तर चुनावी नतिजामा विश्वास नहुँदा नेतृत्व तहमा रहेका नेताहरू भने एक्ला एक्लै निर्वाचनमा जाने मनस्थितिमा छैनन्। तल्लो तहका कार्यकर्ताको मनस्थिति गठबन्धन विपरीत देखिए पनि उनीहरू निर्वाचनको समयसम्म केपी ओलीका बदमासीलाई तत्लोतहसम्म प्रचार गराएर मानसिक रूपमा कार्यकर्ताहरूलाई गठबन्धनप्रति प्रतिबद्ध बनाउने रणनीतिमा लागेको देखिन्छ।

‘गठबन्धनको तालमेलसँग कार्यकर्तालाई आशा मरेको छ, यो पाराले चल्दैन। कांग्रेससँग मिल्ने कुराको पार चल्दैन भन्छन् स्थानीय नेता र कार्यकर्ता,’ एकीकृत समाजवादीका एक पदाधिकारीले उकेरासँग भने ‘तल्ला तहमा कार्यकर्ताहरूले कांग्रेस हेपाहा जात रहेछ, ऊसँग  मिल्नै सकिँदैन भन्छन्।'

ती केन्द्रीय नेताका अनुसार एक्ले लडौँ भन्ने नेता-कार्यकर्तालाई यो राष्ट्रिय आवश्यकता हो, मिलाएर जानुपर्छ भनेर सम्झाइरहेका छन्। तर कार्यकर्ता अझैँ मानसिक रूपमा कांग्रेससँग सहकार्य गर्न राजी देखिएका छैनन्।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा गठबन्धनको मोडालिटीमा छलफल भइरहेको बताउँछन्। उनले सबैको इज्जत, प्रतिष्ठा र भूमिकालाई हेरेर गठबन्धन गर्नुपर्ने बताए।

'नेपाली कांग्रेसले यस्तो विषयमा दम्भ देखाएर एमाले वा कम्युनिस्ट पार्टी विभाजित भएको हुनाले सबै चुनाव म जित्छु, कसैसँग गठबन्धन गर्नुपर्दैन भन्ने मनोविज्ञानबाट नहिँडोस्,' उनले भने' उ आफैँ कुनै दिन पश्चातापको भुमरीमा पर्न सक्छ।’

कांग्रेस उपसभापति धनराज गुरुङ पाँच दलबिच तालमेल हुने र आवश्यकताका आधारमा निर्णय हुने बताए। उनले केन्द्रबाट प्याकेजमा सहमति नगरी जुन ठाउँमा अवस्था र आवश्यकता हुन्छ त्यहीको आधारमा तालमेल हुने उनले बताए।

माओवादी केन्द्रका नेता देव गुरुङ मोडालिटी बनाउने गृहकार्य भइरहेको र आगामी निर्वाचनमा पाँच दल एक भएर निर्वाचनमा जाने बताए। ‘स्थानीय, पालिका ठाउँ अनुसार जिल्ला र प्रदेशलेनै तय गर्ने भएको छ। मोडालिटी तयार पार्ने काम भइरहेको छ,’ माओवादी केन्द्रका प्रवक्ता गुरुङले भने।

जसपाको अर्कै समस्या

गठबन्धनको अर्को घटक जनता समाजवादी एकीकृत समाजवादी र माओवादीप्रति नरम हुन सकेको छैन। एकीकृत समाजवादी र माओवादीको व्यवहारप्रति जसपा रुष्ट देखिएका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलले जहाँ जितेको हो त्यहाँ त्यसैलाई दोहोर्याउने र एमालेले जितेको स्थान एकीकृत समाजवादीलाई दिने माओवादीको प्रस्तावप्रति जसपा खुसी छैन।

जसपाले केन्द्रले स्थानीय तहको( महानगर र उपमहानगर) केन्द्रले नै टुङ्ग्याउनु पर्ने र जिल्लाको हकमा जिल्लातहलाई जिम्मा दिन माग गरेको छ। गत निर्वाचनपछि सबै पार्टीको अवस्था बदलिएकाले पुरानो मत परिणामको आधारमा भागबन्डा हुन नसक्ने उसको मत देखिन्छ। तर यसमा दलहरूबिच सहमति हुन नसकेकाले उ मोडालिटी तय भएपछि मात्रै उम्मेदवार चयन गर्ने रणनीतिमा देखिन्छ।

‘भोलि बेलुकासम्म मोडालिटी तय हुने कुरा छ। त्यसपछिमात्र हामी उम्मेदवारको टुङ्गो लगाउँछौँ,’ जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले उकेरासँग भने' हामी नयाँ शक्ति, राजपा, सङ्घीय समाजवादी फोरम र लोकतान्त्रिक दल मिलेर बनेका हौँ। मतभार गन्ने हो भने चार वटै पार्टीको गणना गरौँ। होइन भने मतभारको सिद्धान्त हामी मान्दैनौँ।’

विगतको स्थानीय तहको चुनावमा ज–जसले जुन ठाउँमा जितेको छ त्यही ठाउँमा दिने एकीकृत समाजवादी र माओवादीको प्रस्तावमा सबै पार्टीको अवस्था फरक भएकाले सबैको वर्तमान अवस्था मुल्याकंन गर्नुपर्ने उनको भनाइ छ।

‘गत चुनावमा ज–जसले जहाँ जहाँ जितेको थियो त्यही पार्टीले लिने र एमालेले जितेको ठाउँमा एकीकृतलाई दिने कुरा छ। त्यो त्यति बस्तुगत देख्दैनौँ। ५ वर्षमा राजनीतिक परिवर्तन भएको छ। कतिपय जिल्लाहरूमा पार्टीको अवस्था परिवर्तन भएको छ,’ खतिवडाले उकेरासँग भने।

जसरी कांग्रेसको नेताहरूको व्यवहारबाट एकीकृत समाजवादीका तल्ला तहका नेता-कार्यकर्ता रिसाएका देखियो त्यसै गरी जसपाका नेताहरू भने तीन ठुला दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरूकै व्यवहारबाट रिसाएको देखियो।

'कांग्रेस र माओवादीको गठबन्धनभित्र दुई वटा दल जताततै हाबी हुने अनि अरू दललाई नगन्ने खालको व्यवहार देखिँदै छ। संयन्त्र बनाउनेदेखि दलीय बैठकमा पनि त्यो देखियो,’ जसपाको नेता गङ्गानारायण श्रेष्ठले भने'आइतबारको सत्ता साझेदार दलहरूको केन्द्रीय संयन्त्र बैठकमा सबैलाई सम्मानजनक प्रस्ताव नहुने हो भने एक्ला-एक्लै चुनावमा जान तयार छौँ।'

चैत २८, २०७८ सोमबार २०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।