साताको पहिलो दिन हरियाली छायो सेयर बजारमा

साताको पहिलो दिन हरियाली छायो सेयर बजारमा

काठमाडौँ :  यो साताको पहिलो दिनको सेयर कारोबारमा नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ। आइतबार नेप्से परिसूचक १०१ दशमलव ०७ अङ्कले बढेर बन्द भएको छ। आइतबार नेप्से २ हजार ६ सय ६७ दशमलव ९७ अङ्कमा पुगेको छ।

सेन्सेटिभ परिसूचकमा सुधार भएर १६ दशमलव ३७ अङ्कले बढ्यो। कारोबार रकममा भने त्यति धेरै सुधार देखिएन। अघिल्लो साता औसतमा ३ अर्ब कारोबार भएको थियो। आइतबार ५ अर्ब हाराहारीमा कारोबार भयो।

आइतबार २ सय २८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँ पुग्यो।

आइतबार २ सय २८ को कारोबार हुँदा २ सय ९ धितोपत्रको मूल्य बढ्यो। यसमा ८ वटाको मूल्य स्थिर रह्यो। ११ वटाको मूल्य घट्यो। 

आइतबार ज्योति लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैङ्क र इमर्जिङ्ग नेपालको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।

राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयर, सूर्या लाइफ इन्स्योरेन्स र मञ्जुश्री फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढ्यो।

आइतबार १३ वटै उपसमूहको परिसूचक बढे। जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक ६.९५ प्रतिशत बढ्यो। होटेल तथा पर्यटन, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढीले बढ्यो।

व्यापार, विकास बैङ्क, निर्जीवन बिमा र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेर बजार बन्द भयो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो।

आइतबार कम्पनीको ३४ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो। अपि पावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भयो। आईसीएफसी फाइनान्सको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जको विवरणमा उल्लेख छ।

फागुन २९, २०७८ आइतबार १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।