नबिलको ३० करोड ६० लाखको सेयर कारोबार हुँदा २० रुपैयाँ घट्यो

नबिलको ३० करोड ६० लाखको सेयर कारोबार हुँदा २० रुपैयाँ घट्यो

काठमाडौँ : यो साताको दोस्रो दिन सोमबार सेयर बजार ६९.७७ अङ्कले घट्यो। अघिल्लो दिनको तुलनामा २.६९ प्रतिशतले घटेर २५२१.६५ बिन्दुमा झरे पनि कुल कारोबार रकम भने बढेको छ।

आइतबार ५ अर्ब १७ करोडको सेयर कारोबार भएको थियो। सोमबार ५ अर्ब ६० करोडको सेयर कारोबार भयो। बजारमा २३८ वटा स्क्रिप्टको १ करोड २ लाख ९२ हजार कित्ता सेयर किनबेच भएको छ।

सबैभन्दा बढी नबिल बैङ्कको सेयर कारोबार भएको छ। एकै दिन नबिल बैङ्कको ३० करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। सेयर मूल्य भने घटेर प्रतिकित्ता १४९९ रुपैयाँमा झरेको छ।

घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। गोर्खाज फाइनान्स र मध्ये भोटेकोसी जलविद्युत कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेपछि सर्किट लाग्यो।

सोमबार यी दुई कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ८७६.७० र १२१ रुपैयाँमा भएको छ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको सेयर ८.५४ प्रतिशतले घटेर प्रतिकित्ता तीन सय रुपैयाँमा झरेको छ।

घलेम्दी हाइड्रोको सेयर मूल्य ८.२१ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय २ रुपैयाँमा अन्तिम कारोबार भयो। बजारमा कारोबारमा आएका १३ वटै समूह राताम्मे देखिए। जसमध्ये सबैभन्दा बढी निर्जीवन बिमा समूह ६१८ अङ्कले ओरालो लागेका छन्। आइतबार बिमा समूहका सेयरको मूल्य बढेको थियो।

पुष १२, २०७८ सोमबार १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।