आइडलका घुमन्ते प्रतियोगी गणेश बल्ल छानिए

आइडलका घुमन्ते प्रतियोगी गणेश बल्ल छानिए

काठमाडौँ : नेपाल आइडल सिजन ४ को दोस्रो राउन्डमा पुग्न असफल हुँदै आएका गणेश सुवेदी अन्तत काठमाडौँको अन्तिम अडिसनमा छानिएका छन्।

नेपाल आइडलको जहाँ-जहाँ अडिसन भयो त्यही पुगिरहे उनी। नेपालगन्ज , विराटनगर, पोखरा सबैतिर पुगेका उनी छानिएनन्। पोखराको अडिसनमा जजमध्ये सुगम सकारात्मक भए पनि सुवानीले काठमाडौँ पनि आउनु भनेकी थिइन्।

शुक्रवार प्रसारित अडिसन राउन्डको अन्तिममा उनी जजहरू सामु पुगे। सुगमले उनको सङ्गीतप्रतिको लगावको प्रशंशागर्दै यस पटक चैँ दोस्रो राउन्डमा जाने गरी गीत गाउन आग्रह गरे।

यस अगाडि पनि उनले ठिकै गाएका थिए। तर उनलाई नछानी सबैतिरको अडिसनमा भाग लिन लगाउनुको कारण कार्यक्रम निर्माण टोलीको चलाखी पो हो कि भन्ने शङ्का नदेखिएको पनि हैन। एक सिजनमा एक पटक असफल भएकामध्ये उनी मात्र हुन् दोहोरिइरहेका। यसले पनि शङ्का बढाएको थियो।

यसभन्दा अगाडि उनले रबी ओडसँगै नेपाल आइडलमा गीत गाएको खुलेपछि त उनी काठमाडौँको अडिसनमा छानिने पक्कापक्की नै थियो। कतै गोल्डेन माइकै पो पाउने हुन् कि झैँ नभएको पनि हैन।

अन्तिम अडिसनमा उनी दोस्रो चरणका लागि छानिए। खुसी थिए गणेश। तर गोल्डेन माइक भने पाएनन्। एक अनुमान मिल्यो। अर्को मिलेन। ठिकै छ। आगामी यात्राका लागि गणेशलाई शुभकामना।

पुष १०, २०७८ शनिबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।