इच्छाराजको ठगी शैली : १७ प्रतिशत ब्याज र उपहारमा सुनभन्दै बचत गराउने, श्रीमती र छोरीको नाममा सम्पत्ति जोड्ने
काठमाडौँ : सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले १७ प्रतिशतसम्म ब्याज दिने र सुनको सिक्का उपहार दिने प्रलोभन देखाएर रकम बचत गराएको सहकारीका पीडितहरूले बयान दिएका छन्।
सिभिल सहकारीका बचतकर्ताहरूले दिएको जाहेरीमा तामाङले १७ प्रतिशतसम्म ब्याज दिने अनि बचत गरेको तीन वर्षपछि २ दशमलव ५ ग्रामको सुन समेत दिने प्रलोभन दिए पनि तीन वर्षदेखि उनले बचत रकम समेत नदिई ठगी गरेको शुक्रवार दर्ता गरिएको अभियोग पत्रमा उल्लेख छ।
अभियोग पत्रमा उनले सहकारीबाट ऋण लिएर परिवारका विभिन्न ब्यक्ती को नाममा जग्गा किनेर ठगी गरेको समेत दाबी गरिएको छ। अनुसन्धानमा उनको श्रीमती सिर्जना शाक्य र छोरीहरू प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा विभिन्न बैक, वित्तीय संस्था, कम्पनीहरूमा सेयरसँगै काठमाडौँ कीर्तिपुरमा जग्गा समेत रहेको खुलेको छ।
सहकारीमा २ हजार १ सय सदस्य रहेको र उनीहरूको बचतको ७ अर्ब रकम तामाङले अवैधानिक रूपमा ऋणको रूपमा चलाएको देखिएको छ। तामाङले सिभिल होम्स समेतका सबै कम्पनीबाट सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई करिब पाँच अर्ब कर्जा तिर्न बाँकी भएको उनले स्विकारेका छन्।
२०७२ को भूकम्पको कारण कम्पनीहरूले निर्माण गरेका अपार्टमेन्टहरूमा ठुलो क्षति पुर्याएकाले पुनः निर्माण गर्न समय लागेकाले ठुलो नोक्सानी क्षति बेहोर्नु परेको भन्दै उनले कोरोना महामारीको कारण घर/अपार्टमेन्ट बिक्री वितरणमा कमी आएपछि ऋण तिर्न नसकेको दाबी गरेका छन्।
मंसिर १७, २०७८ शुक्रबार २०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।