राणा विरुद्ध न्यायाधीशहरू लचिलो भए पनि बार आन्दोलनमै, राजीनामाको म्याद शुक्रवारसम्म

राणा विरुद्ध न्यायाधीशहरू लचिलो भए पनि बार आन्दोलनमै, राजीनामाको म्याद शुक्रवारसम्म

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरु लचिलो भए पनि नेपाल बार एसोसिएसनले भने आन्दोलनलाई कायमै राखेको छ। उसले राणालाई शुक्रबारसम्म राजीनामा दिन अल्टिमेटम दिँदै राजिनामा नदिए आन्दोलन उच्च अदालतसम्म पुर्याउने निर्णय गरेको छ।

बार केन्द्रीय समितिको मंगलबार बसेको बैठकले शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए १८ वटै उच्च अदालतका बारमा केन्द्रीय प्रतिनिधि खटाएर वृहत् विरोध कार्यक्रम गर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन। 

बारले प्रधानन्यायाधीश उपस्थित हुने औपचारिक कार्यक्रम बहिष्कार गर्ने निर्णय समेत गरेको बस्यालले जानकारी दिइन। ‘प्रधानन्यायाधीशविरुद्ध बारले हालसम्म गर्दै आएको आन्दोलनलाई निरन्तरता दिने र सर्वोच्च परिसरमा दङगा प्रहरी परिचालन गरेर माइक खोस्ने कामको भर्त्सना गर्ने निर्णय भएको छ,’बस्यालले उकेरासँग भनिन्,‘बारको बटमलाइन नै प्रधानन्यायाधीशको राजीनामा मात्रै हो।’ 

बार एसोसिएसनले मङ्सिर ३ गते शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई ज्ञापन पत्र बुझाउने र प्रधानन्यायाधीश राणा बाहेकको संवैधानिक परिषद्को बैठक बोलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय पनि गरेको छ। 

प्रधानमन्त्रीलाई परिषद्को बैठक बोलाएर न्यायालयको वर्तमान गतिरोध अन्त्यका लागि अनुरोध गर्ने निर्णय गरिएको उपाध्यक्ष बस्यालले जानकारी दिइन। बारले प्रधानन्यायाधीश राणाको इजलासबाट भएका विवादित फैसला सङ्कलन गर्ने र सङ्कलन गर्ने काममा सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ। 

बारले आन्दोलनको कार्यक्रम तय गर्नुअगाडि सर्वोच्च अदालतका न्यायाधीशहरूसँग छलफल गरेको थियो। न्यायाधीशहरू काममा फर्के पनि बारले आन्दोलन जारी राख्ने तर,स्वरूप भने परिवर्तन हुन सक्ने बताएको छ।

बार एसोसिएसनले कानुन व्यवसायीको आन्दोलनमा वाइसिएलको संलग्नता भएको भन्ने आरोपको खण्डन पनि गरेको छ। 

कात्तिक ३०, २०७८ मंगलबार २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।