परिस्थिति सकारात्मक बनेको प्रधानन्यायाधीश राणाको निष्कर्ष, आइतबारबाट सबै प्रकारका मुद्दाको पेसी तोक्ने 

परिस्थिति सकारात्मक बनेको प्रधानन्यायाधीश राणाको निष्कर्ष, आइतबारबाट सबै प्रकारका मुद्दाको पेसी तोक्ने 

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबारबाट सबै प्रकारका मुद्दाको पेसी तोक्ने भएका छन्।

उनले मंगलबार एउटा बन्दी प्रत्यक्षीकरणको र अरू दुई सय भन्दा धेरै मुद्दाको पेसी तोकेका थिए। प्रधानन्यायाधीश राणाले आफ्नो इजलासमा पेसी तोकेका ७ वटा मुद्दामा सुनुवाइ गरे। 

न्यायाधीश तेज बहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेसीमा चढेका मध्ये बन्दी प्रत्यक्षीकरणको एउटा मुद्दामा मात्रै सुनुवाइ भएको छ। अन्य न्यायाधीशहरूको इजलासमा पेसी चढेका मुद्दाको सुनुवाइ नै भएन। 

न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका छन्। तर, राणाले राजीनामा नदिने अडान कायमै राखेका छन्।

‘उहाँले राजीनामा दिनुहुन्न,’प्रधानन्यायाधीश राणा निकट स्रोतले उकेरासँग भन्यो,‘आइतबारदेखि सबै प्रकारका मुद्दाको पेसी तोकिन्छ।’ राणाले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पनि पेसी तोक्ने काम मंगलबारबाटै सुरु गरेका छन्।

‘मंगलबार बन्दी प्रत्यक्षीकरण र थुनुवाको  मुद्दा पेसीमा चढ्यो,’स्रोतले भन्यो,‘आइतबारबाट सबै मुद्दा पेसीमा चढ्छन् र न्यायाधीशहरू पनि इजलासमा बस्नुहुन्छ।’ राणाले परिस्थिति सकारात्मक बन्दै गएकाले न्यायाधीशहरू इजलासमा बस्ने विश्वास गरेका छन्।

‘न्यायाधीशहरू राणा प्रति सकारात्मक बन्दै गएका छन्,’स्रोतले भन्यो,‘नेपाल बार एसोसिएसनले पनि सेफल्याण्डिङ खोजिरहेको छ।’

न्यायाधीशहरु र बार एसोसिएसनको माग राजीनामा मात्रै नभएर मुद्दाको पेसी गोला प्रथा तोक्ने, वरिष्ठ अधिवक्ताको उपाधि लगायतका रहेकाले राजीनामा बाहेकका विषयमा प्रधानन्यायाधीश राणा सकारात्मक रहेको स्रोतले बताए।

राणाले सर्वोच्चको परिस्थिति सकारात्मक बनिरहेकाले आइतबारबाट सबै न्यायाधीशको इजलास तोक्ने तयारी गरेका हुन्। केही न्यायाधीश बाहेक अन्य न्यायाधीश इजलासमा बस्ने र सुनुवाइ हुने राणा निकट स्रोतले बताए। ‘न्यायाधीशहरू इजलासमा बस्नुहुन्छ,’स्रोतले भन्यो,‘बस्न नचाहने बस्नु हुन्न।’

राणाले आफू संवैधानिक प्रक्रियाबाट नियुक्त भएकाले संवैधानिक प्रक्रियाबाट नै बाहिरिने बताउँदै आएका छन्।

नेपाल बार एसोसिएसनले राणाको राजीनामा माग गर्दै देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ। उसले राजीनामा नै एक मात्र विकल्प भनेको छ।

कात्तिक २३, २०७८ मंगलबार २१:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।